
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण संघलाई एकाधिकार दिन नसकिने बताउनुभएको छ ।
सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा स्पष्ट पार्नुभएको हो । मन्त्री सिन्हाले मुलुकको परिवर्तित सन्दर्भ र संघीयताअनुसार पनि एउटै संस्थालाई एकाधिकार हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त नहुने तर्क गर्नुभयो ।
उहाँले सो संस्था संस्था दर्ता ऐनअन्तर्गत स्थापना भएकाले अरू नागरिकहरूले पनि त्यसैगरी संस्था दर्ता गर्न पाउने भएकाले पनि एउटा संस्थालाई मात्रै एकाधिकार दिनेकुरा गर्न नमिल्ने पनि बताउनु भयो । मन्त्री सिन्हाले पर्वतारोहण क्षेत्रमा नेपाल माउन्टेन एकेडेमी, नेशनल माउन्टेन गाइड एसाेशिएसन जस्ता संस्थाहरूले पनि काम गरिरहेकाले एउटा संस्थालाई मात्रै एकाधिकार हुने गरी अघि बढ्न नहुने बताउनु भयो ।
मन्त्री सिन्हाले नेपालको पर्वतारोहण क्षेत्रमा सो संघले अतुलनिय योगदान दिएको समेत उल्लेख गर्नुभयो ।