
काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले विशेष महाधिवेशन पक्षको विजय भएको टिप्पणी गर्नुभएको छ ।
देशभरका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा आएकाले विशेष महाधिवेशन पक्षधर नै नेपाली कांग्रेस हो भन्ने पुष्टि भएको जिकिर गर्नुभएको हो । उहाँले पार्टीको संस्थापन पक्षलाई पुल र विशेष महाधिवेशन पक्षधरलाई नदीको रूपमा चित्रण गर्दै नदी र पुल अलग भएर बस्नै नसक्ने तर्क समेत गर्नुभयो ।
काठमाडौंमा सुरू भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता आचार्यले विशेष महाधिवेशनको भावनालाई पार्टीका कुनै पनि पदाधिकारीले लत्याउने चेष्टा गर्न नमिल्ने बताउनु भयो । कांग्रेस नेता आचार्यले मुलुकलाई अघि बढाउने कार्यभारसहित अघि बढ्न पनि युवा नेताहरूलाई आग्रह गर्नुभयो ।