माघे सङ्क्रान्ति नजिकिँदै जाँदा तराई-मधेशका हाटबजारमा किनमेल गर्नेको भीड

पुस २७, २०८२ |अनिल मिश्र
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा तराई-मधेशका हाटबजारमा किनमेल गर्नेको भीड

जनकपुर । माघे सङ्क्रान्ति नजिकिएसँगै जनकपुरलगायत तराईमधेशका हाटबजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ ।

माघ १ गते मनाइने माघे सङ्क्रान्तिका दिन मिथिला मधेश क्षेत्रमा सख्खर, तिल, चिउरा, मुरहीको परिकार खाने चलनले आजभोलि यसको व्यापार बढेको हो । व्यापार बढेपछि धनुषाको जनकपुर, महेन्द्रनगर सखुवा, ढल्केबर, बिरेन्द्रबजार, सबैला, यदुकोहालगायतका साना तथा ठूला हाटबजारमा अन्य समयको तुलनामा चिउरा, मुरही र सख्खर खरिद बिक्री गर्नेहरूको संख्या निकै बढेको छ । 

मिथिलाका प्रत्येक घरमा सख्खर मिसाइएको तिल, चिउरा, मुरही, जुनेलोको डल्लो बनाएर खाने चलनले यसको व्यापार बढेको व्यापारीहरू बताउँछन् । अन्य दिनमा दुई सय रूपैयाँदेखि दुई सय २० रूपैयाँमा बिक्री भएको तिलको मूल्य बढेर २ सय ५० पुगेको छ ।  

मिथिलाञ्चलमा माघे सङ्क्रान्ति अर्थात् तिला सङ्क्राइतका दिन खिचडी, मुरही, चिउरा र तिलको लड्डु खाने गरिन्छ । तिल, चिउरा र मुरहीका डल्ला विवाहित चेलीलगायत इष्ट मित्रको घरमा कोसेलीको रूपमा पुर्याउने चलन रहेको छ । माग बढेपछि उद्योगहरूले पनि यतिखेर चिउरा मुरही उत्पादन बढाएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।