सुरू भयो नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुरू भयो नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर सुरू भएको हाे । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै सुरू भएको छ । आयोजकहरूकाअनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । 

प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रूपैयाँ तोकिएको छ । यो विशेष महाधिवेशन पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ । महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ। 

उद्घाटन सत्रपछि बन्द सत्र सुरू हुने र महाधिवेशन सोमबारसम्म चल्ने कार्यक्रम छ । यद्यपि, पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्व)ले यो महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन । यसलाई विधानविपरीत भएको बताएको छ । 

संस्थापन पक्षले नियमित १५ औं महाधिवेशनको कार्यतालिका तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य नभएको धारणा राख्दै आएको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा हजारौं नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहपूर्ण उपस्थिति रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.