धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ घाइते

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार
पुस २६, २०८२ |अनिल मिश्र
धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ घाइते

धनुषा । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । 

मिथिला नगरपालिका-२ मा रहेको सन्त रामपाल आश्रमअगाडि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले जनकपुर ढल्केबर सडकखण्ड अवरूद्ध पारेका छन् । औरही पुलमा एउटा एम्बुलेन्समा तोडफोड भएको छ । 

आश्रमको जग्गा र स्थानीयको जग्गा नापजाँचका लागि नापी कार्यालयबाट अमिन गएका बेला असमझदारी हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयले आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाएका छन् । उनीहरूले यही विषयमा प्रश्न गर्दा आश्रम पक्षबाट आक्रमण भएको दाबीसमेत गरेका छन् । 

झडपमा घाइते भएकाहरूको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ । अहिले त्यस क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक तैथान गरिएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।