
काठमाडौं । नेपाली कांग्रेसमा आइतबार विशेष महाधिवेशन सुरू हुने गरी तयारी अन्तिम चरणमा पुग्दै गर्दै गुटगत भेटघाट शनपबार पनि चलिरहेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच शनिबार बिहान भेटवार्ता भएको छ। यता पार्टी नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनमा कांग्रेसले शनिबारका औपचारिक कार्यक्रम स्थगित गरेको छ । विशेष महाधिवेशन पक्षधरले शनिबार गर्ने भनिएको पदयात्रा पनि रोकिएको छ । महाधिवेशनको तयारी भने जारी छ ।
विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारीका कामहरू धमाधम भैरहेका छन् । मञ्च बनाउनेदेखि आसपासको क्षेत्र तथा सडकमा कांग्रेसका झण्डा राखेर सजाइएको छ । यसैबीच नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीलाई एक ढिक्का बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । नेता भण्डारी र सुनिल शर्माले विशेष महाधिवेशन पनि हुने र पार्टी एकता पनि जोगिने गरी अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।
यता पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री दाहालको निधनप्रति शोक व्यक्त गर्दै पुस २७ गते पार्टीका सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको छ । दाहालको निधनका कारण विशेष महाधिवेशन पक्षधरको शनिबार तय गरिएको पदयात्रा पनि स्थगित गरिएको छ ।
महाधिवेशनका अरू तयारीका काम भने जारी छन् । ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग बमोजिम कांग्रेस महामन्त्रीद्वय पक्षले आइतबारदेखि विशेष महाधिवेशन गर्दैछ । महाधिवेशनका लागि प्रतिनिधिहरू जिल्लाबाट आउने क्रम जारी छ ।