पुष्पकमल दाहालद्वारा रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा

पुस २६, २०८२ |महेश केसी
पुष्पकमल दाहालद्वारा रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा

रुकुम पश्चिम । आसन्न निर्वाचन नजिकिँदै जाँदा सबैतिर चुनावी माहोल बन्दै जान थालेको छ । 

यसै क्रममा आइतबार नेपाली कम्युनिष्ट पार्टीले रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गर्‍यो । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहालले पूर्वसहकर्मी जनार्दन शर्माप्रति कडा आलोचना गर्नुभएको छ भने रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा समेत गर्नुभएको छ ।

विभिन्न ठुला-साना दलसँग एकता गर्दै साविक नेकपा माओवादी केन्द्र नेपाली कम्युनिष्ट पार्टी, नेकपामा रुपान्तरण भएपछि रुकुम पश्चिममा पहिलोपल्ट यस पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालको उपस्थितीमा शनिबार 'एकता सन्देश सभा' को आयोजना गरियो । 

तत्कालिन माओवादी केन्द्रका उपमहासचिव एवं २०६४ पछिका सबै आम निर्वाचनमा माओवादी केन्द्र मै रहेर रुकुम पश्चिमबाट निर्वाचित हुदैं आइरहेका जनार्दन शर्मा एकतापछि बनेको नेकपातर्फ नगइ प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रलोपा गठन गर्नतर्फ लागेपछि यसको सबैभन्दा ठुलो अस र रुकुम पश्चिममा देखिएको छ ।

यसकारण शनिबार आयोजित नेकपाको यो जनसभालाई 'एकता सभा' भनिए पनि त्यो भन्दा धेरै जनार्दन शर्मा पार्टीबाट अलग्गिए पनि साविक माओवादीको ठुलो शक्ति आफ्नो पक्षमा भएको देखाउन आयोजना गरिएको कुरालाई नकार्न सकिन्न । यसै सन्दर्शमा केन्द्रित भएर नेकपाका संयोजक दाहालले जनार्दनलाई 'भगौडा' भन्दै उनले 'कम्युनिष्ट आन्दोलनलाई धोका दिएको' आरोप लगाए ।

उसो त एक महिनाअघि प्रलोपाले पनि जनार्दन शर्माको उपस्थितीमा सदरमुकाम खलंगामै 'युवा प्रशिक्षण' भनेर एउटा कार्यक्रमको आयोजना गरिसकेको छ भने, पार्टी कार्यालय स्थापनादेखि गाउँ तहसम्म संगठन विस्तारको कामलाई पनि गति दिएको छ । यसबाट पनि दुबै पक्ष आफ्नो शक्ति देखाउने होडबाजीमा लागेको कुरा छिपेको छैन ।

आसन्न निर्वाचनमा रुकुम पश्चिमबाट नेकपाले पूर्व कर्णाली प्रदेश सांसद एवं मन्त्री गोपाल शर्मालाई सिफारिस गरेको छ भने प्रलोपाले जनार्दन शर्मालाई नै चुनाबी मैदानमा उतार्ने निर्णय गरिसकेको छ । केहीअघिसम्म एउटै संगठन र एकै मञ्चमा देखिने यी दुई सहकर्मीहरु प्रतिस्पर्धामा उत्रिएपछि रुकुम पश्चिमको चुनावी माहोल अहिलेसम्मकै रोचक हुने देखिएको छ ।

अबको निर्वाचनमा साविक माओवादीबिच नै प्रतिस्पर्धा हुने भएपछि एमाले र कांग्रेस लगायतका दलले जनजमत आफ्नो पक्षमा पारेर जित्ने दाउ हेरिरहेको भएपनि त्यो सम्भव नभएको नेकपाका नेताहरुको भनाइ छ । उता साविक रुकुमबाट छुट्टीएर बनेको रुकुम पूर्वबाट आफु चुनाव लड्ने पक्कापक्की भएको घोषणा समेत दाहालले सम्बोधनका क्रममा गरेका छन् । यसकारण पूर्व र पश्चिम दुबै जिल्लाको आगामी आम निर्वाचनाको माहोल साविकको भन्दा भिन्न हुने देखिन्छ नै ।

खैर, निर्वाचनमा कुल दल र को उम्मेदवार अनि जित कस्को पक्षमा ? त्यो एउटा कुरा भयो । तर मुल बिषय भनेको यस भेगका जनमनका आधारभुत आवश्यकताहरुको सम्बोधन गर्दै विकासलाई गति दिने कुरा हो, जुन विगतमा भने अनुसार भएन र अब हुनुपर्छ भन्ने जनभावना छ ।

पार्टीहरु फुट्ने र जुट्ने अनि नेताहरु मिल्ने र छुट्टिने क्रम विगतदेखि नै चलिरहेको छ । यसले दलीय राजनीतिमा असर र अर्थ त राख्छ नै तर आम जनभावना र जनचासो भनेको समग्र देश विकासको हो। समृद्धि र सुशासनको हो । यसतर्फ आगामी निर्वाचनका उम्मेदवार र मतदाता दुबै पक्षले यसतर्फ ध्यान दिन जरुरी छ ।

कान्तिपुर समाचारका लागी , रुकुम पश्चिम ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।