धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका पहाडी जिल्लामा राजनीतिक दलहरूले आफ्ना गतिविधि बढाउन थालेका छन् ।
अघिल्ला निर्वाचनमा कांगेस, एमाले र तत्कालीन माओवादी केन्द्रको प्रभुत्व रहेका धनकुटा, पाँचथर र संखुवासभामा हर्क साम्पाङको श्रम संस्कृति र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्रपार्टीले पनि निर्वाचन गतिविधि बढाएका छन् । नयाँ दलको सहभागिताले यसपटकको निर्वाचन परिणाम पनि फरक हुने आकलन गर्न थालिएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले कोशीका पहाडी जिल्लामा संगठन विस्तार र प्रतिनिधि सभा निर्वाचन केन्द्रित आमसभा तथा कार्यक्रम गरिरहेको छ । साम्पाङले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभालगायत जिल्लामा आमसभा गरी मतदाता र कार्यकर्ताबीच आफ्ना मुद्दा, प्रतिबद्धता र आश्वासन बाँडिरहनुभएको छ ।
२०४८ सालपछिका हरेकजसो निर्वाचनमा कांगेस, एमाले र तत्कालीन माओवादी केन्द्रको वर्चश्व रहेको कोशी पहाडी जिल्लामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि चुनावी अभियानमा जुटेको छ । दुबै दलले भ्रष्टाचार नियन्त्रण र सुशासनका नारा दिएर मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
श्रम संस्कृति पार्टीले श्रम, उत्पादन, स्थानीय स्रोतको उपयोगलाई मुख्य मुद्दा बनाएको छ । उसले नेतृत्व र विकासको मोडेल परिवर्तन आवश्यक रहेको दाबी गर्दैआएको छ । सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रदेश संरचनाको खारेजीलगायतका विषयलाई रास्वपाले आफ्नो चुनावी मुद्दा बनाइरहेको छ ।
श्रम संस्कृति र रास्वपा निर्वाचनमा केन्द्रित भइरहँदा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी भने औपचारिकरूपमा निर्वाचन अभियानमा देखिएका छैनन् । वडा र टोलसम्मकै जनाधार भएका पूराना पार्टी निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय नभए पनि आफ्नो संगठन, अनुभवि नेतृत्व र ऐतिहासिक योगदानलाई आधार मानेर चुनाव जित्ने दाबी गरिरहेका छन् ।
कोशी प्रदेशका पहाडी जिल्लामा नयाँ दल पूरानाका लागि चुनौती बन्नसक्ने आकलन छ । पूराना दलका लागि भने यो निर्वाचन आफ्नो विश्वास पुनर्स्थापित गर्ने अवसर हुने विश्लेषण छ । कोशी पहाडी जिल्लामा राजनीतिक शक्ति परिवर्तन अथवा पुरानै दलको प्रभुत्व कायम रहँला ? यो प्रश्नको जवाफ आगामी निर्वाचनले दिनेछ ।