स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कपको उपाधि आयोजक अरनिकोलाई

पुस २५, २०८२ |हरिश्चन्द्र बाग
स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कपको उपाधि आयोजक अरनिकोलाई

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ स्थित अरनिको खेलमैदानमा अरनिको खेलकुद विकास समितिको आयोजनामा भएको सातौँ संस्करणको अरनिको सैनिक कप फुटबल प्रतियोगिताको उपाधि आयोजक अरनिकोकै पोल्टामा परेको छ । बिहीबार साँझ भएको अन्तिम खेलमा आयोजक अरनिको खेलकुद विकास समितिले न्यु भानु युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गर्न सफल भएको छ ।

आफ्नै घरेलु मैदानमा भएको फाइनल खेलमा आयोजकका लागि श्याम बयाडीले खेलको १६ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औँ मिनेटमा रोहित तामाङले गोल थपे । अतिरिक्त समयतर्फ खेलको ६१ औँ मिनेटमा विकास थापाले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गरे । उपविजेतामा सीमित बनेको न्यु भानु युवा क्लबका लागि अविनाश ऐडीले खेलको ५३ औँ मिनेटमा सान्त्वना गोल फर्काए । बाँकी समयमा थप गोल गर्न नसक्दा भानु उपविजेतामै सीमित रहनुपरेको हो । अन्तिम खेलको ‘म्यान अफ दि म्याच’ आयोजक टिमका विकास थापा घोषित भए ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका १५ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि जितेसँगै आयोजक अरनिको युवा क्लबले नगद रु. २ लाख ६१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यु भानु युवा क्लबले नगद रु. १ लाख ३० हजार सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । व्यक्तिगत विधातर्फ पनि आयोजक टिमकै वर्चस्व रह्यो । प्रतियोगिताको अनुशासित खेलाडी निखिल दोङ तामाङ, सर्वाधिक गोलकर्ता श्याम बयाडी, उत्कृष्ट डिफेन्डर दिपेन सिंह ठकुरी, उत्कृष्ट गोलरक्षक दिनेश नेपाली घोषित भए । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उदयमान खेलाडी विकास थापा मगर बनेका छन् । उदयमान तथा उत्कृष्ट खेलाडी विकास थापा हालै सम्पन्न अन्डर १६ राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबबाट सर्वाधिक गोलकर्ता बनेका अरनिकोका खेलाडी हुन् ।

स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप २०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिता पुस १५ गतेदेखि सुरु भएको थियो ।  


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।