
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बुधबार ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । महिला, अपाङ्ग र अन्य गरी ३ पदमा हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले, कांग्रेस गठबन्धनबाट लुम्बिनी प्रदेशमा ३ जना, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ३ जना र राष्ट्रिय जनमोर्चाका २ गरि ८ जनाको उम्मेदवारी परेको छ ।
त्यहाँ भागबण्डाअनुसार कांग्रेसले अपाङ्गबाट बासुदेव जंगली र अन्यबाट चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले महिलामा नेकपा एकीकृत समाजवादी छाडेर आएकी रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाएको छ । नेकपाबाट महिलामा दुर्गा भण्डारी, अपाङ्गबाट सर्जन विक र अन्यबाट वृहस्पति अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । जनमोर्चाकी पदमा पण्डित र खुला सदस्यमा बोमबहादुर खत्रीको उम्मेदवारी परेको छ ।
उता कर्णालीमा कांग्रेस-एमाले गठबन्धनले आमनिर्वाचन हारेका र यसअघि समानुपातिक सांसद भइसइसकेका लाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । कांग्रेसले २०७९ को आमनिर्वाचनमा प्रदेश सभाको निर्वाचन हारेका ललितजंग शाही र एमालेले २०७४ मा समानुपातिक कोटामा प्रदेश सभा सदस्य बनेका मीनासिंह रखाललाई राष्ट्रिय सभाको उम्मेदवार बनाएका हुन् ।
नेकपाले बुद्धिप्रसाद शर्मा र अञ्जु महतारालाई उम्मेदवार बनाएको छ । कर्णालीमा महिला र अन्य गरी दुई सिटका लागि निर्वाचन हुन लागेको हो । त्यस्तै कांग्रेस-एमाले गठबन्धनबाट दुई, नेकपाका दुई र राष्ट्रिय जनमोर्चाबाट २ गरी गण्डकीमा ६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसले उम्मेदवार बनाएका जगत तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएका काम गरेका व्यक्ति हुनुहुन्छ भने एमालेका सम्झना देवकोटा २०८० को निर्वाचनमा पनि राष्ट्रिय सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो।
त्यसैगरी नेकपाले कपिल लामा र महिलामा गोमा घिमिरेलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाबाट शंकर बराल र लक्ष्मी बास्कोटाले उम्मेदवारी दिनुभएको छ । यता बागमती प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपा, एमाले, कांग्रेस र नेकपाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछुको उम्मेदवारी परेको छ । एमाले-कांग्रेस गठबन्धनबाट एमालेका प्रेमप्रसाद दङ्गाल र कांग्रेसकी गीता देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । नेकपाका प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले उम्मेदवारी दिनुभएको छ । बागमती प्रदेशमा एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।
उता कोशी प्रदेशमा रिक्त तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । एमाले कांग्रेस गठबन्धनबाट कांग्रेसका सुनील थापा तथा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेलले उम्मेदवारी दिनुभएको छ । थापा अन्य र मेचे तथा पोर्तेल क्रमश महिला र दलित उम्मेदवार बन्नुभएको हो । त्यस्तै नेकपाका खमराज सुन्दास र नमिता न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा रिक्त २ सिटका लागि ४ जनाको उम्मेदवारी परेको छ । महिलातर्फ एमालेकी लीलाकुमारी भण्डारी र नेकपाकी रोजी बस्नेत उम्मेदवार बन्नुभएको छ । त्यस्तै अन्यतर्फ कांग्रेसका खम्मबहादुर खाती र नेकपामा टीकाराम जैशी उम्मेदवार बन्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६ हजार एक सय रहेको छ ।
मधेश प्रदेशमा एमाले, कांग्रेस र जसपा नेपालबीच गठबन्धन भए पनि राष्ट्रिय सभा निर्वाचनमा जसपा असन्तुष्ट देखिएको छ । गठबन्धनमा असन्तुष्ट बनेको जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा तीन सिटमा उम्मेदवारी दर्ता गराएको छ । जसपा नेपालले अल्पसंख्यक अपांगतातर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साहको उम्मेदवारी दर्ता गराएको हो ।
अन्य कलस्टरमा महन्त ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस एमालेले भने गठबन्धनको सहमतिअनुसार नै उम्मेदवारी दिएका छन् । कांग्रेसबाट दलित कोटामा धर्मेन्द्र पासमान र अल्पसंख्यकमा रंजित कर्णले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेबाट महिलामा रेखाकुमारी झा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपार्टीबाट दलितमा शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र महिलामा समीकुमारी अग्रवालको उम्मेदवारी दर्ता भएको छ । मधेशमा चार सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले पुस २४ गते उमेमेदवारविरूद्ध उजुरी दिने, २५ र २६ गते उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशन गर्ने र २७ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने तालिका राखेको छ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।