जेन-जी आन्दोलन दमन प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकको ६ पेज बयान, अब ओलीको पालो

गोली चलाउने आदेश नदिएको लेखककाे दाबी
पुस १४, २०८२ |प्रकाश बम
जेन-जी आन्दोलन दमन प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकको ६ पेज बयान, अब ओलीको पालो

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी आन्दोलनमा आफूले कसैलाई गोली चलाउने आदेश नदिएको जिकिर गर्दै उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिनुभएको छ । 

जेन-जी आन्दोलनकारीका माग जायज भएको स्वीकार्दै उहाँले घटनामा धेरै क्षति भएपछि राजनीतिक नैतिकताका आधारमा आफूले गृहमन्त्रीबाट राजीनामा दिएको उल्लेख गर्नुभयो । आयोगमा बयान दिनेमध्ये लेखक अहिलेसम्मका उच्चस्तरका नेता हुनुहुन्छ । आयोगले लेखकसँगको बयान सकिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ ।

जेन-जी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिन तत्कालीन गृहमन्त्री रमेश लेखक सोमबार मध्याह्न सिंहदरबार पुग्दै गर्दा बाहिर कार्यकर्ताको बाक्लै उपस्थिति थियो । साढे १२ बजे आयोगमा पुगेका लेखकले करिब साढे ३ घन्टासम्म ६ पेज लामो लिखित बयान दिँदा आफ्नो संलग्नता नभएको स्पष्ट पार्ने प्रयास गर्नुभएको छ ।

जेन-जी आन्दोलन र त्यसपछिका तोडफोड पूर्वतयारीका साथ भएको दाबी गर्दै बयानमा लेखकले गृहमन्त्रीले गोली चलाउन आदेश दिने कानुनी व्यवस्था र परम्परा नै नभएको जिकिर गर्नुभयो । बयान दिएर फर्किएपछि कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै लेखकले गृहमन्त्रीका रूपमा व्यक्तिगत र नैतिक जिम्मेवारीलाई भने कहिल्यै नबिर्सिएको बताउनुभयो ।

जेन-जी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको आरोप लेखकको छ । २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध भएको उहाँले जिकिर गर्नुभयो । लेखकले संसद् भवन, सर्वोच्च अदालत र आफ्नै निजी निवास लगायतमा भएको आगजनीलाई ’सुनियोजित षड्यन्त्र’ र ’लोकतन्त्रमाथिको आक्रमण’ भन्नुभएको छ ।

लेखकले स्थान हद र राहदानी रोक्काबारे आफूलाई कुनै लिखित वा मौखिक जानकारी नभएको भन्दै प्रतिबन्ध लगाएकोमा आपत्ति जनाउनुभयो । स्थान हद र राहदानी रोक्का संविधान विपरित भएको उहाँको तर्क छ । जेन-जी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र तथ्यपरक अध्ययन र अनुसन्धान गर्न आग्रह गर्दै आवश्यक परे फेरि बयान दिन तयार रहेको जानकारी जाँचबुझ आयोगलाई दिनुभयो ।

आयोगले भने तत्कालीन गृहमन्त्री लेखकको बयान नसकिएको बताएको छ । लेखकपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बयान लिइने आयोगले जनाएको छ । ओलीलाई बयानमा बोलाउनका निम्ति पत्र भने अहिलेसम्म नलेखिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताउनुभयो । 

आयोगले जेन-जी आन्दोलन र त्यसपछिका घटनाक्रमका बेला जिम्मेवारीमा रहेका तत्कालीन गृहसचिव गोकर्णमणी दवाडी, काठमाडौ‌ंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङसँग बयान लिइसकेको छ । यसैगरी प्रधानसेनापति अशोकराज सिंग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल लगायतसँग पनि आयोगले बयान लिइसकेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।