
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुभएको छ ।
सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेका पनि आइतबार उहाँले स्वेच्छाले राजीनामा दिनुभएको हो । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेको छ ।
विगतको अभ्याससमेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गर्नुभएको जनाइएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार गत निर्वाचनका समयमा सभामुख रहनुभएका अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदाइ लिनुभएको थियो । सोही अभ्यासअनुसार वर्तमान सभामुखले काम गर्नसक्ने उहाँले बताउनुभयो ।
नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्थाको उपदफा ६ (क)मा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।