के भयो त बालेन्द्र र रविबीचको ६ घन्टा लामो भेटवार्तामा ?

पुस ८, २०८२ |दशरथ राई
के भयो त बालेन्द्र र रविबीचको ६ घन्टा लामो भेटवार्तामा ?

काठमाडौं । पूराना दललाई चुनौती दिँदै वैकल्पिक शक्ति एक हुने प्रयास अघि बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबीच सोमबार राति ६ घन्टा भएको भेटले नेपाली राजनीति तरंगित भएको छ । 

दुई जनाबीचको भेट सकारात्मक रहेको र आगामी दिनमा सहकार्य गर्ने दिशातर्फ वार्ता अघि बढेको प्रतिक्रिया रास्वपा नेताहरूले दिएका छन् । शाहलाई फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीका रूपमा अघि सार्ने सम्भावनामा छलफल अघि बढाएको खुलासा रास्वपा नेताहरूले गरेकै बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । के भयो त बालेन्द्र र रविबीचको ६ घन्टा लामो भेटवार्तामा ?

सहकारी ठगी मुद्दामा एक वर्षदेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत साता थुनामुक्त भएसँगै बढेको उहाँको राजनीतिक सक्रियताले पार्टीमा मात्र होइन, राष्ट्रिय राजनीतिमै तरंग पैदा गरेको छ। सोमबार साँझ काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग लामिछानेले ६ घन्टा भेट गर्नुभयो। यो भेटले वैकल्पिक शक्तिहरूबीच एकता हुनुपर्छ भन्नेहरूलाई सुखद सन्देश दिएको छ भने पूराना राजनीतिक शक्तिहरूलाई सशंकित बनाइदिएको छ।

के भयो त बालेन्द्र र रविबीचको ६ घन्टा लामो भेटवार्तामा ?

भेट चलिरहेकै बेला कान्तिपुर टिभीमा प्रसारित कार्यक्रम 'फायरसाइड'मा रास्वपा नेता शिशिर खनालले बालेन्द्रलाई पार्टीमा भित्राउने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्ने गरी छलफल भइरहेको बताउनुभएको थियो। उता सोमबार राति ६ घन्टासम्म भएको वार्ता फागुन २१ को निर्वाचनमा एउटै मोर्चाबाट प्रतिस्पर्धा गर्नेमा केन्द्रित थियो। 

मंगलबार चितवन पुग्नुभएका रास्वपा सभापति लामिछानेले पनि नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरू गरिएको र सोहीअनुसार बालेन्द्र शाहसँग पनि छलफल भएको बताउनुभयो । यो प्रयासलाई टुंगोमा पुर्याउने गरी काम भइरहेको उहाँको भनाइ छ ।

रास्वपाका सांसद असिम शाहको कमलपोखरीस्थित निवासमा सोमबार साँझ सात बजेदेखि सुरू भएको छलफल मंगलबार बिहान साढे १ बजेसम्म चलेको थियो। खासगरी पुराना दललाई चुनौती दिने गरी वैकल्पिक धारका शक्ति एकै ठाउँमा उभिनुपर्ने निस्कर्षका साथ दुई नेताबीच लामो छलफल भएको थियो ।

आगामी निर्वाचनमा एक ठाउँमा उभिने उद्देश्यका साथ भेटवार्ता भए पनि त्यसको मोडालिटीबारे कुरा भइनसकेको रास्वपा उपसभापति अर्यालको भनाइ छ । भेटलगत्तै सामाजिक सञ्जालबाट ट्वीट गर्दै पूर्वसांसद असिम शाहले नयाँ आशा पलाएको सार्वजनिक गर्नुभएको थियो । 

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि नयाँ राजनीतिक शक्तिबीच एक ठाउँमा उभिने विषयमा छलफल तिव्र भइरहेको तर टुंगोमा पुर्याउन बाँकी रहेको प्रतिक्रिया दिनुभएको छ । यसबारे पार्टीभित्र र बाहिर छलफललाई बाक्लो बनाइएको बुर्लाकोटीको भनाइ छ। 

नयाँ वैकल्पिक पार्टीहरू एक ठाउँमा उभिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने विषयलाई टुङगोमा पुर्याउनका लागि रास्वपाले कार्यदल नै गठन गरेर अघि बढेको छ । निर्वाचनमा जेन-जी आन्दोलनका प्रतिनिधिहरूलाई पनि समेटेर अघि बढ्ने पक्षमा आफूहरू रहेकाले त्यसका लागि आन्तरिक र बाह्य छलफल भइरहेको रास्वपाले जनाएको छ ।

रास्वपा सभापति लामिछानेले नयाँ वैकल्पिक शक्ति निर्माणका लागि जेन-जीका समूह र उज्यालो नेपाल पार्टीको अगुवाइ गरिरहनुभएका मन्त्री कुलमान घिसिङसँग पनि छलफल अघि बढाइने बताउनुभएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर लोकप्रिय मतका साथ काठमाडौं महानगर प्रमुखमा विजयी बालेन्द्र शाह र २०७९ को प्रतिनिधिसभा निर्वाचनको केहीअघि पार्टी स्थापना गरेर संसद्मा चौथो शक्ति बनेको रास्वपाबीचको संवाद कसरी अगाडि बढ्छ, केही समय कुर्नुपर्नेछ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।