
महोत्तरी । महोत्तरीको मनराशिसवा नगरपालिकाका जनप्रतिनिधि तथा नापी कार्यालयको लापरवाहीका कारण सिँगै वडाका स्थानीय लालपूर्जा पाउनबाट बञ्चित हुने अवस्था आएको छ ।
वडा १० का ६० घरधुरी स्थानीय, जनप्रतिनिधि र नापी कार्यालयका कर्मचारीहरूको लापरवाहीले गर्दा जग्गा नापनक्सा नहुँदा लालपूर्जा पाउनबाट बञ्चित हुने अवस्था आएको हो । वडाध्यक्ष अरूण चौधरीले ६० घर मल्लाह समुदायको जग्गा नापी गर्न समन्वय नगरेको र नापी कार्यालयका कर्मचारीले समेत सिँगै समुदायको घर जग्गा नाप नक्सा नगरिदिँदा आफूहरू लालपूर्जा पाउनबाट बञ्चित भएको स्थानीयको आरोप छ।
यसैबीच समस्या समाधान गर्न प्रयासरत रहेको नापी कार्यालयले जनाएको छ । यसैबीच नाप नक्सा नहुँदा लालपूर्जा पाउनबाट बञ्चित भएको मनराशिसवाका नगरपालिका १० का स्थानीयले मंगलबार नापी कार्यालय घेराउ गरेका छन् । उनीहरूको घेराउका कारण दुई घन्टा कार्यालयको कामकाज प्रभावित बनेको थियो ।