बाँके । सीप, योजना र निरन्तर मिहिनेत भए स्वदेशमै आत्मनिर्भर बन्दै राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ बाँकेको कोहलपुरकी सरिता थापा ।
कोहलपुर-२ शक्तिनगरकी थापाले विगत १२ वर्षदेखि रैथाने कुखुरापालन गर्दै आउनुभएको छ । कुखुरापालनबाट उहाँ जिल्लामा सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ। ३८ वर्षीया सरिता थापा पारिवारिक पृष्ठभूमि पनि किसान नै हो । उहाँका ससुरा र श्रीमान दुबै जनाले कृषि विषयमै उच्चशिक्षा हासिल गर्नुभएको छ ।
अध्ययनपछि धेरैले जागिर वा वैदेशिक रोजगारी रोज्ने प्रवृत्ति भए पनि थापाको परिवारले स्वदेशमै कृषि क्षेत्रमा लगानी गरेर उत्पादनसँग जोडिनुपर्ने निर्णय गर्यो । यही सोचले सरितालाई पनि कृषि क्षेत्रमा अघि बढ्न प्रेरित गर्यो। व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरेकी थापाले परिवारको साथ र अनुभवको बलमा रैथाने जातका कुखुरापालन सुरू गर्नुभयो ।
साढे १३ कठ्ठामा सञ्चालन भइरहेको फार्म आठ लाख रूपैयाँ लगानीमा दुई सय चल्लाबाट सुरू गरिएको थियो । अहिले फार्मको लागानी डेढ करोड रूपैयाँ पुगेको छ । रैथाने कुखुरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले जोखिम कम हुने र उत्पादन राम्रो हुने थापाको अनुभव छ ।
परिवारका सबै सदस्य फार्ममै खटिने भएकाले कामको व्यवस्थापन सहज भएको छ । हाल फार्मबाट मासिक करिब तीन लाख रूपैयाँ मुनाफा हुने गरेको छ। फार्ममा उत्पादित कुखुराको माग बाँकेसहित कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उच्च छ ।
सरिता थापाको सफलताले स्वदेशमै कृषि उद्यममार्फत स्वरोजगारी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ ।