.png&w=1000&height=550)
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१, लामिडाँडाको सुन्तला खेती रोग र किराको प्रकोपका कारण प्रभावित भएको छ ।
१६ वर्षसम्म गरेको लगानी र मिहिनेत धरासायी बन्दै जाँदा व्यवसायिक रूपमा सुन्तला खेती गर्दै आएका यहाँका किसान विस्थापित हुन सक्ने जोखिम बढ्दै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१, लामिडाँडाका कृषक भोजबहादुर कार्कीका लागि सुन्तला र जुनारखेती कहिल्यै भरपर्दो आम्दानीको स्रोत थियो ।
२०६६ सालदेखि व्यवसायिक रूपमा खेती थालेका उहाँले विगतमा सुन्तला बिक्रीबाट वार्षिक ७ लाख रूपैयाँसम्म कमाउँदै आउनुभएको थियो । तर पछिल्ला वर्षहरूमा फल झर्ने समस्या, कीरा प्रकोप र रोगका कारण उत्पादन निरन्तर घट्दै गएको छ । यस वर्ष त बिक्री योग्य फल नै नबचेपछि सुन्तलाबाट हुने आम्दानी शून्यजस्तै बनेको छ।
लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले केही वर्षअघिसम्म सुन्तला बिक्रीबाट लाखौंको आम्दानी गर्दै आउनुभएको थियो । तर पछिल्ला वर्षहरूमा बगैंचामा फैलिएको रोग र संक्रमणले उनका सुन्तलाका बोटहरू क्रमशः कमजोर बन्दै गएका छन् । फल बाक्लै लागे पनि कीराले खाएर झर्ने समस्या बढ्दा उत्पादनमा ठूलो क्षति पुगेको छ । बोटमै फल नटिकेपछि मेहनतअनुसारको आम्दानी नहुँदा उनी पनि गम्भीर चिन्तामा परेका छन् ।
लामिडाँडामा सुरूमा तीन घरधुरीबाट सुरू भएको सुन्तला खेती अहिले पुरै गाउँका घरधुरीमा १५ देखि ५० बोटसम्म फैलिएको छ । तर पछिल्ला वर्षहरूमा सबै किसानका बगैंचामा उस्तै समस्या देखिन थालेको छ । मौसमी प्रकोपबाट सुरू भएको क्षति अहिले किरा र रोगको ठूलो महामारीमा रूपान्तरण भएको किसानहरूको भनाइ छ ।
असिनाले फुल नष्ट गर्नु, अनियमित वर्षा र पहिलेजस्तो सन्तुलित पानी नपर्नुजस्ता समस्याले उत्पादनमा ठूलो असर पारेको छ । बदलिँदो मौसमका कारण सुन्तला खेती जोखिमपूर्ण बन्दै गएको छ । रोग र किराले संक्रमित भएका सुन्तलाका फलहरू माटोमै सड्न नदिइ खाल्डो खनेर गाड्नुपर्ने कृषि प्राविधिकहरूले सुझाएका छन् ।
रोग तथा किराको प्रकोप नियन्त्रणका लागि समय र निरन्तर आवश्यक व्यवस्थापन गर्न सके सुन्तला खेतीलाई दीर्घकालीन रूपमा जोगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सुन्तलामा देखिएको रोग पहिचानका लागि प्रभावित बगैँचाबाट नमूना संकलन गर्न हालसम्म कुनै सरकारी निकायले पहल नगरेको किसानहरूको गुनासो छ ।