धनकुटामा कुनै उम्मेदवारविरूद्ध परेन उजुरी

माघ ७, २०८२ |विनोद घिमिरे
धनकुटामा कुनै उम्मेदवारविरूद्ध परेन उजुरी

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारविरूद्ध धनकुटामा दाबी-विरोधको उजुरी परेकाे छैन । 

राजनीतिक दलका १४ र ४ स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी दर्ता भएको धनकुटामा कुनै उमेदवारविरूद्ध पनि उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयाे । उम्मेदवारी दर्तापछि तोकिएको दाबी-विरोधको अवधिमा कुनै पनि उम्मेदवारविरूद्ध उजुरी नपरेको उहाँले जानकारी दिनुभयाे । 

उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएसँगै निर्वाचन कानुनअनुसार दाबी-विरोधका लागि बुधबार १० देखि ५ बजेको समय तोकिएको थियो । दाबी–विरोध नपरेपछि अब निर्वाचन तालिकाअनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्ने प्रक्रिया अगाडि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

धनकुटामा नेपाली कांग्रेसबाट दिनेश राई, नेकपा एमालेबाट राजेन्द्र कुमार राई , नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, नेपाल मजदुर किसान पार्टीबाट उत्तम साखकर्मी, जनता समाजवादी पार्टीबाट निशान राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, संघीय लोकतान्त्रिक मञ्चबाट बालकुमार ताम्ली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) बाट रविन कुमार राई, आम जनता पार्टीबाट प्रेमबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट सागर राई छन् । 

यस्तै मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।