पर्यटन प्रवर्द्धनमा योगदान गर्ने कान्तिपुरकर्मीसहित तीन जना सम्मानित

माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पर्यटन प्रवर्द्धनमा योगदान गर्ने कान्तिपुरकर्मीसहित तीन जना सम्मानित

उदयपुर । पूर्वको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएकाे भन्दै उदयपुर कान्तिपुरकर्मी भोटराज राईसहित तीन जनालाई बेलका होटल व्यवसायी संघले सम्मान गरेको छ ।

संघले बुधबार पत्रकार राई र सरकारमार्फत मान्यता प्राप्त उदयपुरको पहिलो दुई व्यवसायिक (टेन्डम) प्याराग्लाइडिङ पाइलटहरू धनकुमार राई, नवराज राईलाई सम्मान गरेको हो । दुवै प्याराग्लाइडिङ पाइलटहरू बेलका नगरपालिका-८ निवासी युवाहरू हुन् । संघका अध्यक्ष रमन भट्टराईले दोसल्ला र कदरपत्रले सम्मान गर्नुभएकाे हाे ।

उनीहरूले बेलकाको बोप्ताङमै सिकेर त्यहिँबाट उडानसम्मको व्यवसायिक अनुमति प्राप्त गरेका हुन् । पोखराका व्यवसायिक प्याराग्लाइडिङ प्रशिक्षक सुरेन गुरूङले बेलकामा सञ्चालन गर्नुभएकाे फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलबाट उनीहरूले प्रशिक्षण पाएका हुन् । कार्यक्रममा प्रशिक्षक गुरूङको योगदानकोसमेत प्रशंसा गरिएको थियो ।

यहाँ प्याराग्लाइडिङको माध्यमबाट पर्यटनमा ठुलो टेवा पुगेको छ । यहाँ आठ वर्षदेखि प्रशिक्षण सुरू भएको हो । बेलकाको बोप्ताङ नेपालको पोखरा पछिको प्याराग्लाइडिङको उत्कृष्ट ठाउँ मानिएको प्रशिक्षक गुरूङले बताउनुभयाे । पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग सञ्चालनपछि बेलका र सप्तकोशीको चतरा क्षेत्र पूर्वी नेपालको चर्चित पर्यटन हब बनेको छ । यहाँ पर्यटनसँगै जलपर्यटन, होटल, व्यवसाय फस्टाउँदै गएको संघका सचिव दुर्गराज राईले बताउनुभयाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.