संविधानको अक्षर र मर्मअनुसार संयमित भूमिका निर्वाह गरेको सेनाकाे दाबी

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधानको अक्षर र मर्मअनुसार संयमित भूमिका निर्वाह गरेको सेनाकाे दाबी

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन तथा त्यसपछिको अशान्त परिस्थितिमा नेपाली सेनाले संविधानको अक्षर र मर्मअनुसार संयमित भूमिका निर्वाह गरेको जनाएको छ ।

जंगी अड्डाले सार्वजनिक गरेको विश्लेषणमा ती दिनहरूमा देश उच्च जोखिमको अवस्थामा पुगेको र थप मानवीय क्षति रोक्नु नै सेनाको प्रमुख लक्ष्य रहेको उल्लेख छ । भदौ २४ गते अवस्था अझ अराजक बन्दै जाँदा विशिष्ट व्यक्ति, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा सेनाको पहिलो दायित्व बनेको सेनाको भनाइ छ ।

सेनाले कार्यपालिकाको स्पष्ट निर्णयविनै आन्तरिक सुरक्षामा हस्तक्षेप नगरेर संवैधानिक मर्यादा पालना गरेको पनि दाबी गरेको छ । यदि कार्यपालिकाको स्पष्ट आदेशविना हस्तक्षेप गरेको भए र २४ गते थप नागरिकको मृत्यु भएको भए परिस्थिति सम्हालिन कठिन हुने र विनाआदेश आफैँ परिचालन भयो भनी त्यसको दोष पनि आफूमाथि नै पर्ने अवस्था रहेको सेनाल उल्लेख गरेको छ ।

संकटको घडीमा उद्धार, मानवीय सहायता र संवेदनशील स्थानको संरक्षणमा सीमित तर आवश्यक भूमिका आफूहरूले निर्वाह गरेको सेनाको भनाइ छ । भौतिक संरचनाभन्दा मानवीय जीवनलाई प्राथमिकतामा राखेर गरिएको निर्णय नै उचित भएको पनि सेनाले स्पष्ट पारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.