
काठमाडौं । इंग्लिस प्रिमियर लिग-इपीएलमा साेमबार राति पौने २ बजे हुने खेलमा फुलहामले नटिङ्घम फरेस्टसँग खेल्ने तालिका रहेको छ।
लिगको मध्यभन्दा तल रहेका यी दुई क्लब रेलिगेसन जोनबाट बच्ने अवसरको खोजीमा हुनेछन्। १६ खेलमा १८ अंक मात्रै बनाएको फरेस्ट अंक तालिकाको १७औं स्थानमा छ। यता समान खेलमा २० अंक जोडेको फुलहाम १५औं स्थानमा कायम छ। त्यसैले यी दुबै टिमलाई जितको दबाब बढ्दै गएको छ भने आउँदा खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने भएको छ।
दुबै टिमको पछिल्ला पाँच खेल हेर्ने हो भने मिश्रित नतिजा देख्न पाइन्छ। फुलहामले पाँचमध्ये दुई खेलमा जित निकालेको छ भने तीन खेलमा हार ब्यहोरेको छ। फरेस्टले भने तीन खेल जितेको छ। फुलहाम र फरेस्टबीच भएका पछिल्ला पाँच खेलमा भने चार खेल फुलहामको पक्षमा रहेको छ।
सन् २०२३ को प्रिमियर लिगमा त फुलहामले फरेस्टलाई ५-०को फराकिलो अन्तरले पराजित गरेको थियो। पछिल्ला तीन खेलमा पनि फुलहाम नै विजयी बन्दै आएको छ। तर तत्कालको स्थितिमा भने लिभरपुललाई समेत हराएको फरेस्ट केही आत्मविश्वासी देखिएको छ। तर अफ्रिका कप अफ नेसन्सका लागि खेलाडी बोलाइएपछि फुलहामलाई केही घाटा लागेको छ।
क्याल्भिन बासेसी, एलेक्स इवोबी र सामुएल चुक्वुएजे गरी कम्तिमा तीन महत्वपूर्ण खेलाडी टिमसँग छैनन्। सर्बियाली मिडफिल्डर लुकिचले पछिल्लो खेल आधा मात्रै खेल्न सके पनि यसपटक उपलब्ध हुने प्रशिक्षक मार्को सिल्भाले बताएका छन्। उनले जोर्जे कुएन्का र केभिनलाई टोलीमा समावेश गरेका छन्। फरेस्टका लागि क्रिस उड, ओला आइना र रायन येट्स चोटका कारण टिमबाहिर छन्। ताइवो अवोनियी प्रशिक्षणमा फर्किनु उसका लागि राहतको विषय भएको छ।