विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चारवटा ऐन संशोधन हुँदै

मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समावेश गरिने
पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चारवटा ऐन संशोधन हुँदै

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चारवटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ ।

सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिनुभएको हो । उहाँले सर्वोच्च अदालतको फैसलासहित विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानुनहरू संशोधन भइरहेको जानकारी दिनुभयो । 

उहाँकाअनुसार विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन निर्वाचन ऐन, २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधन समेत गरिएको छ । उहाँले संशोधन प्रस्तावमा मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समेत समावेश गरिएको जानकारी दिनुभयो । उहाँले अन्तरजिल्लाबाट समानुपातिक, प्रत्यक्ष वा दुबैतर्फ मतदान गर्न सकिने व्यवस्था गरिने समेत जानकारी दिनुभयो ।

उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयनको चरण रहेको समेत जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.