काठमाडौं । वैकल्पिक शक्तिहरू एक्ला-एक्लै निर्वाचनमा जाँदा फेरि पुरानै दल स्थापित हुने निष्कर्षका साथ राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच एकताको प्रयास चलिरहेको छ ।
यसअघि नेतृत्व र निर्वाचनमा कुरा नमिल्दा निष्कर्षविहीन भएको एकता तथा सहकार्यको प्रयास रवि लामिछाने थुनामुक्त भएपछि अघि बढ्नेमा नेताहरू उत्साहित छन् । एकताको प्रयास सफल नभए चुनावी तालमेल भए पनि गरेर एक भएर जाने पक्षमा तीनवटै शक्ति छन् ।
फागुन २१ को निर्वाचनमा परम्परागत दलहरूलाई धक्का दिन सक्ने वैकल्पिक शक्ति निर्माण हुन सक्छ कि सक्दैन ? भन्ने प्रश्न अहिले बहसको विषय छ। यसमा पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङले अगुवाइ गरेको उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह एकै ठाउँमा उभिने सम्भावनाका बारेमा धेरैले चर्चा गरिरहेका छन्।
हुन त यी तीन पक्षबीच निर्वाचन आयोगमा दल दर्ताको समयमै एकताको प्रयास नभएको होइन। नयाँ र वैकल्पिक शक्ति एकै ठाउँमा नआए पुरानै दलको बर्चस्व अस्तित्वमा आउने निष्कर्षका साथ उनीहरूले पहल अगाडि बढाएका थिए । त्यसका लागि तीन वटै पक्षले आ-आफ्ना तर्फबाट वार्ता टोली गठन गरेर छलफल समेत अघि बढाए । तर त्यतिबेला रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा थुनामा रहेकाले नेतृत्व तहमा दोहोरो संवाद हुन सकेको थिएन ।
त्यही भएर दोस्रो तथा तेस्रो तहमा पटक-पटक छलफल भएर पनि निष्कर्षविहीन भएको थियो एकताको संवाद । विशेषगरी, नेतृत्व कसले लिने भन्नेमा कुरा मिल्न सकेको थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेबाहेक अन्यलाई नेतृत्व मान्न तयार छैन । न त आफ्नो निर्वाचन चिन्ह घण्टी नै छोड्न तयार छ।
यता कुलमान घिसिङ पनि बलेको चिम चिह्न छाड्ने मुडमा हुनुहुन्न । अझ रास्वपा सभापति लामिछाने जेलमै रहेको अवस्थामा नेतृत्व कसरी मान्ने भन्नेमा कुलमानसहितका अन्य शक्तिको बुझाइ थियो । जसले गर्दा वार्ता बीचमा ओझेल पर्यो । अब रवि लामिछाने थुनामुक्त भएपछि फेरि तीनवटै शक्ति एकताको प्रयासलाई लामिछानेले टुंगोमा पुर्याउनेमा उत्साहित देखिएका छन् । तर हालको अवस्थामा एकता कानुनी रूपमा सहज छैन ।
किनभने निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा नै साझा निर्वाचन चिन्हसहितको निवेदन निर्वाचन आयोगमा बुझाउनुपर्थो । नभए एकल चुनाव चिन्हबाट निर्वाचनमा जाने गरी निवेदन दिनुपर्थ्याे । त्यो समय सकिएकाले अब कसरी अघि बढ्ने भन्नेमा पनि अलमल देखिएको छ ।
एकता नै भयो भने पनि एउटै चिन्हमा चुनाव लड्ने र पछि एकता गर्ने बाटो खुला छ । यसरी एकता नै गरे पनि समानुपातिकको बन्दसूची भने आ-आफ्नै दलको बुझाउनुपर्छ । यसले पनि कुरा मिलेको छैन । एकता प्रयास सफल नभए चुनावी तालमेल गरेर भए पनि निर्वाचनमा जानुपर्ने पक्षमा तीनवटै शक्ति छन् ।
यी तीन शक्तिबाहेक अन्य नयाँ दलबीच पनि एकताको प्रयास भइरहेको छ । जेन-जी अभियन्ताहरूको पनि नयाँ वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने मात्रै होइन आफैँ निर्वाचनमा जान पनि यी शक्तिहरूको साथ खोजिरहेका छन् । यसअघि संवादमा सहभागि रास्वपाका एक नेता भन्छन् – सभापति लामिछाने थुनामुक्त भएपछि अब फेरि संवाद सुरू हुन्छ।
नेतृत्वका विषयमा यसअघि भएका अलमललाई किनारा लगाएर तीनै शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासले अब सार्थकता पाउने उनको विश्वास छ। कुलमान पक्ष पनि अब लामिछाने थुनामुक्त भएपछि नयाँ सिराबाट संवाद सुरू हुनेमा आशावादी छ।बालेन्द्र पक्ष उस्तै कुरा बताइरहेको छ।
अहिलेको आवश्यकता वैकल्पिक शक्तिहरू एक ठाउँमा हुनुपर्छ भन्नेमा बालेन्द्र पक्ष सहमत भए पनि त्यसको मोडालिटीबारे भने उसको स्पष्टता छैन। पार्टी, नेतृत्व र चुनाव चिन्हका विषयमा यी तिन पक्षको फरक मत भए पनि एउटा विषयमा भने उनीहरूको साझा निष्कर्ष छ – अहिले नै वैकल्पिक शक्तिहरूबीच मेल नहुने हो भने यसपछि अर्को अवसर प्राप्त नहुन सक्छ। त्यसकारण अब संवादलाई निष्कर्षमा पुर्यालउने हतार तीनै पक्षलाई छ।