सुनसरी । गत भदौ २४ गते जेन-जीको प्रर्दशनको क्रममा ध्वस्त भएको इटहरीस्थित यातायात व्यवस्था कार्यालय अनेक चुनौतीको सामना गर्दै लयमा फर्कन संघर्ष गरिरहेको छ ।
२४ गतेको प्रदर्शनको क्रममा आगजनी तथा तोडफोडबाट ध्वस्त भएको कार्यलयले अहिले अस्थायी संरचना निर्माण गरी सेवा प्रवाहलाई निरन्तरता दिएको छ । आन्दोलनको क्रममा यस कार्यलयमा आगजनी हुँदा ५ करोड २८ लाख बराबरको भौतिक क्षति भएको थियो ।
ट्रयाक्टर शाखाबाहेक सबै शाखाका सवारी दर्ता किताब र सवारीसाधनसँग सम्बन्धित सम्पूर्ण फाइलहरू जलेर नष्ट भए । खरानी टक्टक्याएर गत असोज २९ गतेदेखि इजाजत पत्र, सवारी जाँचपाँस र अस्थायी इजाजतपत्र सेवा आंशिकरूपमा सुरू गरेको कार्यलयले अस्थायी संरचनाबाट कात्तिक ३० गतेदेखि सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याएको छ ।
आगजनीबाट ध्वस्त भएको कार्यलयबाट अहिले सम्पूर्ण सेवाहरू सुचारू भए पनि कार्यालयका भौतिक संरचनाहरू जलेर नष्ट भएकोले सवारीधनीका फाइलहरूको सुरक्षामा चुनौती छ । सवारीसाधनसाग सम्बन्धित सवारी दर्ता किताब -ढड्डा र सवारीसाधनसँग सम्बन्धित फाइलहरू जलेर नष्ट भएकाले नामसारी, सरूवा तथा प्रतिलिपि जारी गर्न पुनः फाइल खडा गर्नुपर्ने भएकोले सेवा प्रवाहमा ढिलाइ भए पनि सुधार गर्दै काम भैरहेको कार्यलयको दाबी छ ।
कार्यलयका अनुसार सवारी दर्ता किताब जलेर नष्ट भएकाले विदेशमा रहेका नेपाली नागरिकहरूको सवारीसाधनहरूको स्वामित्व हस्तान्तरणमा समस्या आएको छ । सवारीसाधनहरूको प्रदूषण परीक्षणसमेत यस कार्यालयले गर्दै आएकोमा प्रदूषण परीक्षण गर्ने उपकरण नहुँदा उक्त सेवा सञ्चालनमा समस्या छ ।
क्षतिग्रस्त भवनको पुनःनिर्माण र सबलीकरण गर्नका लागि प्रदेश सरकारसँग अनुरोध गरेको कार्यलयले सेवा सञ्चालनका लागि आवश्यक पर्ने थप कम्प्युटर, प्रिन्टर, फर्निचर तथा अन्य अत्यावश्यक सामग्रीको लागि प्रदेश सरकार तथा अन्य सहयोगी संस्थालाई अनुरोधसमेत गरेको छ ।