प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा केन्द्रले पुस १६ बाट मतपत्र छपाइको काम सुरू गर्ने

पुस ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा केन्द्रले पुस १६ बाट मतपत्र छपाइको काम सुरू गर्ने

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले यही पुस १६ गतेबाट मतपत्र छपाइको काम सुरू गर्ने तयारी गरेको छ ।

जनक शिक्षाले पुस १६ बाट समानुपातिकतर्फको मतपत्र छपाइ सुरू गर्ने तयारी गरेको हो । समानुपातिकतर्फको दलहरूको संख्या यकिन भैसकेकाले मतपत्र छपाइका लागि आन्तरिक कार्ययोजना बनाइ आवश्यक सबै तयारी पुरा गरिसकेको प्रवन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो । 

केन्द्रले निर्वाचनको मतपत्र छपाइका लागि २९ दिनको कार्यतालिका बनाइसकेको र निर्वाचन आयोगको औपचारिक पत्र आउनसाथ काम सुरू गरिने जनाएको छ । मतपत्र छपाइका लागि जनक शिक्षाले चारवटा अत्याधुनिक मेसिन मर्मत गरी २ सय ५० जना जनशक्ति समेत तयारी अवस्थामा राखिसकेको छ । 

निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ४ करोड मतपत्रसहित नमूना मत्रपत्र, मतदाता परिचयपत्र, सूचनामुलक पोष्टरहरूलगायतका आवश्यक सामग्री छपाइका लागि केन्द्रले तयारी गरेको छ । केन्द्रले छपाइ गरेको मतपत्र तथा निर्वाचनका सामग्रीहरु जिल्ला-जिल्लामा पुर्याउन चाहिने सामान फास्ट ट्रयाकमार्फत खरिद गर्ने निर्णय समेत गरिसकेको छ । मतपत्र छपाइका लागि करिब २५ करोड खर्च लाग्ने अनुमान जनक शिक्षाको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.