मधेस प्रदेश : सभामुख पदका लागि दुई जनाकाे मनोनयन दर्ता

पुस ५, २०८२ |अनिल मिश्र
मधेस प्रदेश : सभामुख पदका लागि दुई जनाकाे मनोनयन दर्ता

जनकपुर । एक महिनाभन्दा लामो समयदेखि रिक्त रहेको मधेस प्रदेशको सभामुखका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार सात दलीय साझा उम्मेदवारको रूपमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव र एमालेको तर्फबाट त्रिलोकी प्रसादले मनोनयन दर्ता गराउनु भएको हो । रामअशिष यादवको प्रस्तावकमा कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनु भएको छ । 

यस्तै त्रिलोकी प्रसादको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल रहनु भएको छ । त्रिलोकीको प्रस्तावक र समर्थक दुब‌ैजना एमालेकै प्रदेश सभा सदस्य रहनु भएको छ । नयाँ सभामुख चयनका लागि आइतबार १ बजे निर्णायार्थ प्रस्तुत गर्ने प्रदेश सभाको कार्यसुची रहेको छ ।

आचरण अनुकूल काम नगरेको भन्दै तत्कालीन सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते प्रदेशसभा सदस्यको हस्ताक्षरले पदमुक्त हुनुभएको थियो । कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ७६ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मण्डलविरूद्ध कार्तिक २६ गते प्रदेश सभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।