बर्दिया । बर्दिया गुलरिया नगरपालिका-३ हरीयाली टोल टेपरीका बाढी पीडितले सरकारबाट पाउने राहत पाएका छैनन ।
०७१ साल साउन २८ गते आएको बाढीबाट पूर्ण क्षति भएका बाढी पीडितका लागि सरकारले घर बनाउन ३ लाख ५० हजार रूपैयाँ दिने घोषणा गरेको थियो । त्यसमध्ये पीडितले १ लाख २० हजार रूपैयाँ मात्र पाएका छन् । सरकारी रकम नपाएपछि ऋणमा घर बनाएकाहरुले, रकम तिर्न नसकेर बिचल्ली भएको छ ।
बर्दिया गुलरिया नगरपालिका-३ कि कलीमुन पठान बाढीबाट क्षतीग्रस्त भएको घर निर्माणका लागि सरकारले ३ लाख ५० हजार दिने आशामा ऋण काढेर घर बनाउनुभयो । सहरी विकास तथा भवन कार्यालय, नेपालगञ्जले १ लाख २० हजार पहिलो किस्ता दिए पनि २ लाख ३० हजार नपाएको गुनासो पोख्नुभएको छ । साहुबाट लिएको ऋण तिर्न नसकेर अहिले घर जग्गा छाड्ने दबाब आएको छ ।
आम्दानीको स्रोत नभएपछि अहिले उहाँजस्तै सहिल अली पठान लयायतको अवस्था उस्तै छ । सहरी विकास तथा भवन कार्यालय,नेपालगञ्जका प्रमुख राजु न्यौपानेले यस आर्थिक वर्ष बर्दियाका बाढी पीडितका लागि भवन बनाउने बजेट नभएको बताउनुभयो ।
ऋण र बेरोजगारीका कारण यस गाउँका ९० प्रतिशत युवा जनशक्ति भारतमा मजदुरी गर्न गएका छन । कहाली लाग्दो बस्तीमा ०७१ सालको बाढीले ९० प्रतिशत बस्ती डुवानमा परेको थियो । जनप्रतिनिधिको बेवास्ताले सरकारबाट पाउने राहत पाउन सकेका छैनन् । ०७१ साल साउन महिनामा बबई नदीमा आएको बाढीले बर्दियाका ९० प्रतिशत भू-भाग डुवानमा परेको थियो । ३२ जनाको ज्यान गएको बाढीले रामपुर टप्पु र ढुग्राहा गाउँनै बगाएको थियो ।