एआई प्रविधिको दुरूपयोग नियन्त्रण नगरे फागुन २१ को निर्वाचन बिथोलिने जोखिम

एआईको प्रयोगबाट बनेका अवास्तविक र नक्कली सामग्री धेरैका लागि समस्या बन्दै
पुस ४, २०८२ |अञ्जना लामिछाने
एआई प्रविधिको दुरूपयोग नियन्त्रण नगरे फागुन २१ को निर्वाचन बिथोलिने जोखिम

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा प्रदीप ज्ञवाली महासचिव बन्न नपाएको भन्दै रूँदै गरेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर त्यो भिडियो वास्तविक होइन। 

एमालेकै अधिवेशनलाई जोडेर र अन्य राजनीतिक दल तथा व्यक्तिलक्षित अनेकन तस्बिर र भिडियो बनिरहेका छन् र सामाजिक सञ्जालमा प्रवाह भइरहेका छन्। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रविधिको प्रयोगबाट बनेका यस्ता अवास्तविक र नक्कली सामग्री धेरैका लागि टाउको दुखाइ बनेको छ। 

प्रविधिको दुरूपयोगबाट सिर्जित यस्ता सामग्री नियन्त्रण नगर्ने हो भने आगामी फागुन २१ गते हुने निर्वाचन नै बिथोल्नेसम्मका मिथ्या सूचना प्रवाह हुने सक्ने जोखिम विज्ञहरूले औँल्याएका छन् । एमालेको ११औँ महाधिवेशनमा महासचिवको उम्मेदवारी दिने तयारी गरेका प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार नबनाएपछि रूष्ट बन्नुभएको थियो । 

त्यसैको आधारमा एआईद्वारा निर्मित ज्ञवाली रूँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । जसमा लेखियो 'महासचिव बन्न नपाएपछि रूँदै महाधिवेशनस्थलबाट बाहिरिए ज्ञवाली'। त्यो भिडियोलाई धेरैले पत्याए पनि । त्यतिमात्रै होइन एमालेकै महाधिवेशनमा गायिका ज्योति मगर पनि गएकी थिइन् । त्यहाँ एमाले अध्यक्ष ओलीसँग गफ गरिरहेको फोटो भिडियोलाई मोडिफाइ गरी अध्यक्ष ओलीले मासु र खाना खुवाइदिएको भिडियो पनि सामाजिक सञ्जालमा प्रवाह भयो। 

एमालेकै महाधिवेशनको उद्घाटनमा लाखौँ मानिसको उपस्थिति भएको भनेर पनि एआईकै सहयोगमा फोटो बनाएर प्रचारमा ल्याइयो । अहिले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकता गर्न लागेको सन्देशसहित तीन जनाको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। 

यसलाई रास्वपाकै नेता कार्यकर्ताले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। केही नागरिकले तिनैजना एक ठाउँमा आएर निर्वाचनमा जानुपर्ने आवाज पनि उठाइरहेका बेला यस्तो दृश्य प्रचारमा ल्याइएको हो । यस्ता तस्बिर र भिडियो अरू पनि छन् । जुन आर्टिफिसिइल इन्टेलिजेन्स अर्थात् एआईमा आधारित प्रविधिको प्रयोग गरेर बनाइएका हुन्।

आजभोलि एआईमा आधारित त्यसका सफ्टवेयर र प्रोग्रामहरू प्रशस्तै छन् जसमा हुँदै नभएका घटनाको दृश्य पनि सिर्जना गर्न सकिन्छ। यसरी प्रविधिको प्रयोग गरेर भएको यस्ता फोटो भिडियोले अनेकन प्रश्न उब्जाइदिएको छ । प्रविधिका जानकारहरू यसले आगामी फागुनमा हुने निर्वाचनमा एआईको दुरूपयोग बढ्ने र मिथ्या सुचना बढी प्रवाह हुने बताउँछन् । 

खासगरी एआईबाट फोटो भिडियो मोडिफिकेसन बढी रहेकोमा संक्रमणको समयमा एआईको दुरूपयोग अझ बढ्न सक्ने सम्भावना हुन्छ। विश्वमै राजनीतिक अस्थिरता बढिरहेका बेला प्रोपोगान्डाका लागि र मानिसहरूलाई दिगभ्रमित बनाउनका लागि एआइको दुरूपयोग गरी डिस इन्फरमेशन-मिसइन्फर्मेसन बढ्ने जानकारहरू बताउँछन्। त्यसलाई रोक्न तत्काल कदम चाल्नुपर्ने विज्ञहरूको सुझाव छ ।

नेपालमा जेन-जी आन्दोलनपछि प्रविधिको प्रयोग गरी यस्ता मिथ्या सूचनाको निर्माण र प्रवाहको क्रम बढेको अध्ययताहरू बताउँछन्। आगामी निर्वाचनमा यसको थप दुरूपयोग बढ्ने जोखिम छ। अहिले नेपालमा एआइसम्बन्धी कानुन छैन । एआई नीतिमा कानुन बनाउने भनेपनि कानुन बन्न सकेको छैन । त्यसैले यसलाई नियमन गर्न नसक्दा दुरूपयोग बढिरहेको छ । 

खासगरी निर्वाचनका बेला मिथ्या र भ्रमपूर्ण सूचना फैलाउन नदिन तत्काल नागरिकस्तरमा सचेतना फैलाउनुपर्ने, डिजिटल लिटरेसीको क्याम्पेन चलाउने र त्यस्ता भ्रमपुर्ण सूचना प्रवाह गर्नेलाई अहिलेकै कानुन बमोजिम कारबाही गर्नुपर्ने जानकारहरुूको भनाइ छ । निर्वाचनको समयमा कुनै पार्टी विशेष र उम्मेदवारलक्षित भ्रमपूर्ण सूचना फैलाउने र दुष्प्रचार गर्ने, गलत भाषणलगायतका सामाग्रीहरू भाइरल गराउने मात्रै होइन निर्वाचन नै बिथोल्ने खालका सामग्री प्रचारप्रसाार गर्नेसम्मका गतिवधि हुन सक्छ ।

यता निर्वाचन आयोगले पनि निर्वाचनको समयमा हुने प्रविधिको दुरूपयोगलाई नियन्त्रण गर्न फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल कम्पनीहरूसँग छलफल गरिरहेको छ । आयोगले आफ्नै सफ्टवेयरबाट पनि त्यस्ता फेक न्युज कन्टेन्टलाई नियन्त्रणका लागि तयारी गरेको छ ।

खासगरि सामाजिक सञ्जाल मोनिटाइजेसनले पनि यसको दुरूपयोग बढिरहेको छ । कन्टेन्ट जति भाइरल हुन्छ, त्यति नै पैसा आउने भएकाले यस्ता सामाग्रीहरू सामाजिक सञ्जालमा धेरै सेयर हुने गरेका हुन् । एआईको नियमन विकसित र शक्तिराष्ट्रहरुकै लागि समेत चुनौती बनिरहेका बेला नेपालजस्ता डिजिटल लिटरेसी कम भएका मुलुकमा झनै चुनौतिपुर्ण छ । 

त्यसैले अहिले तत्कालका लागि निर्वाचनलक्षित मिथ्या सूचना नियन्त्रण गर्न नागरिकमा सचेतना अभियान सञ्चालन सुरू गरिहाल्नुपर्ने विज्ञहरूले बताएका छन्। 


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।