साहसिक खेलमार्फत क्षमता प्रमाणित गर्दै शारीरिक अपाङ्गता भएका व्यक्ति

अपाङ्गताप्रतिको दृष्टिकोण बदल्दै
पुस १, २०८२ |कमला पाख्रिन
साहसिक खेलमार्फत क्षमता प्रमाणित गर्दै शारीरिक अपाङ्गता भएका व्यक्ति

सिन्धुपाल्चोक । शारीरिक अवस्थालाई चुनौती दिँदै अपाङ्गता भएका व्यक्तिहरू ह्वीलचेयर बास्केटबल, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, ह्यान्ड साइकलिङ, बन्जी जम्पिङजस्ता साहसिक खेलमार्फत आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित नयाँ पुलमा सञ्चालन हुने एड्भेन्चर खेल 'बन्जी' मा शारीरिक अवस्थालाई चुनौती दिँदै अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढ्दै गएको छ । ट्रान्सभर्स माइलाइटिसजस्तो मेरूदण्ड पक्षघात सरहको जटिल रोगसँग लड्दै १३ वर्षदेखि शारीरिक अपाङ्गतासँग जुधिरहेका चौतारा साँगाचोकगढी-५ का दिलिप सापकोटा साहस र आत्मविश्वासका प्रतीक बनेका छन् । 

शारीरिक अवस्थालाई चुनौती दिँदै उहाँले प्याराग्लाइडिङ, बिना ह्वीलचेयर स्विमिङ र ह्वीलचेयरमै बन्जी जम्पजस्ता साहसिक खेल खेलिरहेका छन् । सिन्धुपाल्चोकको भोटेकोशीको नयाँ पुलबाट दिलिपले गरेको बन्जी जम्पले अपाङ्गताप्रति समाजले हेर्ने दृष्टिकोणलाई नै तोडिदिएको छ ।

सिन्धुली कमलामाई नगरपालिका-५ का शिशिर दाहाल चार वर्षदेखि ह्वीलचेयरमा दैनिकी बिताइरहेका छन् । तर शरीरको असक्ततालाई उहाँले कहिल्यै जीवनको असक्तताको रेखा मानेनन् । भोटेकोशीको बन्जी स्पटबाट ह्वीलचेयरमै बसेर साहसिक छलाङ मार्दा शिशिरले डरभन्दा आत्मविश्वास ठूलो हुन्छ भन्ने सन्देश दिएका छन् । 

उहाँका लागि त्यो क्षण साहसिक खेल मात्र थिएन, अपाङ्गताप्रति समाजले बनाएको दृष्टिकोणलाई चुनौती दिने बिन्दू पनि थियो । "अपाङ्गता शरीरमा हुन सक्छ, हिम्मत र सपनामा होइन," भन्ने उहाँको सन्देशले अपाङ्गता भएका धेरै व्यक्तिलाई अघि बढ्ने हौसला दिएको छ ।

पछिल्लो समय साहसिक खेल बन्जी जम्पतर्फ अपाङ्गता भएका व्यक्तिहरूको आकर्षण बढ्दै गएको छ । बन्जी आयोजकले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सुरक्षा मापदण्ड, विशेष उपकरण र प्रशिक्षित प्राविधिक सहयोग उपलब्ध गराएपछि उनीहरू सुरक्षितरूपमा बन्जी जम्प गर्न सक्षम भएका छन् ।

शारीरिक अपाङ्गता हुँदा-हुँदै पनि उनीहरूले डरलाई जित्दै भोटेकोशीको गहिरो खोंचमा हामफाल्नु आत्मविश्वास, आत्मबल र दृढ इच्छाशक्तिको उदाहरण बनेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।