
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टीका उपसभापति धनराज गुरूङको सभापतित्वमा साेमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेता उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते ९१ वर्षको उमेरमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।
२०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित उपाध्याय २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । २०५६ मा उहाँ शिक्षा तथा खेलकुदमन्त्री हुनुभयो भने २०६२/०६३ को जनआन्दोलनपश्चात् पुनःस्थापित व्यवस्थापिका संसद्को सदस्य रहनुभयो । उहाँ २०६४ को संविधानसभा सदस्य निर्वाचनमा मोरङ १ बाट निर्वाचित हुनुभएको थियो ।