साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ

मंसिर २८, २०८२ |खेल ब्युरो
साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ

काठमाडौं । एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । 

आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १-० गोलले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको थियो । एपीएफले एक पटक विपक्षीको पोस्टमा आक्रमण गरेको थियो । 

यसै खेलमार्फत गीता रानाले पुनरागमन गरेकी छन् । चोटका कारण उनी तीन महिना मैदान बाहिर रहेकी थिइन् । पहिलो हाफमा उनी सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेकी हुन् । ५२औं मिनेटमा एपीएफले डेडलक तोड्यो । 

रश्मी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् । रेनुका नगरकोटीको क्रसमा उनले हेडर गोल गरेकी हुन् । ६५औं मिनेटमा रश्मीले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमाइन् । उनी वान भर्सेस वानमा चुकेकी हुन् । ७० औं मिनेटमा निशा थोकरको प्रहार कराँची गोलकिपरले उत्कृष्ट बचाउ गरेकी थिइन् । जारी प्रतियोगितामा एपीएफ अपराजित छ । 

भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहीत बराबरी खेलेको एपीएफले नसरिन स्पोर्टस एकेडेमीलाई ४-० गोलले हराएको थियो । अब लिगको अन्तिम खेलमा एपीएफले भारतको इस्ट बंगालसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफको तीन खेलबाट ६ अंक छ ।