
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभाको चुनावमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले चुनावलाई प्रभावित नुहने गरी काम गर्न सरकारलाई सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारूकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो । राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
सोही अवसरमा राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।