सप्तरी । सप्तरीकी १४ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी भएको तीन साता नाघिसक्यो ।
पीडित परिवार प्रहरीमा धाएकोधायै छ । तर, प्रहरीले अहिलेसम्म पीडितलाई न्याय र पीडकलाई कारबाही गराउने सवालमा तदारूकता देखाएको छैन । यो घटना हो गत मंसिर ६ गतेको । बिहे गर्छु भन्दै सप्तरीबाट छिमेकी २१ वर्षीय युवकले १४ वर्षकी किशोरीलाई ललाइफकाइ झापाको बिर्तामोड पुर्यायो ।
किशोरीलाई एक होटेलमा राखेर पटक-पटक जबर्जस्तीकरणी गर्यो । तर, ७ गते बिहानै युवकले किशोरीको मोबाइल फुटाइदियो र आफ्नी आमा बिरामी भएको बहाना पारेर सम्पर्कविहीन भइदियो । घटनाबारे पीडित किशोरी र उनका बुबाले सप्तरीस्थित गाउँको प्रहरी चौकीमा उजुरी दर्ता गर्न गए । तर प्रहरीका असईले आफ्नै बदनामी हुन्छ भन्दै पञ्चायती गरेर मिलाउन पीडित किशोरी र उनका बुबालाई सुझाव दिए ।
स्थानीय प्रहरी चौकीले निराश बनाएपछि पीडित पक्षले मंसिर १० गते सदरमुकाम राजविराज पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । त्यहाँ प्रहरीले पीडित किशारीको बयान पनि लियो । तर, कारबाही प्रक्रिया अघि नबढाएको उनीहरूको आरोप छ ।
पीडित किशोरीले भनिन्,'ती युवकसँग चिनजान थियो । बिहेको प्रस्ताव गरेर बिर्तामोड घुम्न आउ भनेपछि म अगाडि पछाडी नसोचेर गइहालेँ । तर, बिहे गर्नुको साटो मसँग रातभरि जबर्जस्तीकरणी गर्यो । नयाँ ठाउँमा चिनजानको कोही नहुँदा पीडा सहनुको विकल्प थिएन । बिहान मसँग झगडा गरेर तिमी जाउ भन्दै युवक भागेँ । मैले घर परिवार बताएपछि राजविराज गएर जिल्ला प्रहरीमा उजुरी गर्दा पनि केही भएको छैन ।'
बलात्कृत पीडितको बुबाले भने, 'सप्तरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठाडो उजुरी लिएर ४२३ दर्ता नम्बरको पर्ची दियो । छलफल गर्ने भनियो । अहिलेसम्म मुद्दा दर्ता भएको छैन । कुनै कारबाही बढेको छैन । घटना बिर्तामोडको भएको भन्दै सप्तरी प्रहरीले बिर्तामोड जान भन्यो । बिर्तामोडमा बलात्कार भएको होटेलको पहिचान गर्न भनियो । आफू बाबू-छोरीलाई न्यायको साटो पीडा दिने काम भइरहेको छ ।'
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझ्दा प्रहरीले घटनाको गम्भीरता भन्दा पनि उजुरीको औपचारिकतालाई प्राथमिकता दिएको देखिन्छ । सप्तरी प्रहरीका डीएसपी डम्बरबहादुर पुरीले पीडित किशोरीले घटना भएको ठाउँबारे बताउन नसकेकाले जाहेरी उल्लेख गर्न नसक्किएको भन्दै झापामै गएर उजुरी दिन भनेको जवाफ दिएकाले पनि सप्तरी प्रहरीले प्रकियागत कुरा देखाएर पन्छिन खोजेको प्रष्ट देखिन्छ ।