नेकपा एमालेको ११औैं महाधिवेशनको बन्द सत्र सुरू

मंसिर २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
 नेकपा एमालेको ११औैं महाधिवेशनको बन्द सत्र सुरू

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरू भएको छ । 

आइतबार बिहान ९ बजे नै सुरू हुने भनिएको बन्द सत्र ढिला गरी केहीबेरअघि मात्र सुरू भएको हो । बन्द सत्रमा प्रतिनिधिहरूलाई स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो । बन्द सत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहितालगायतका विषय प्रस्तुत हुने जनाइएको छ । बन्द सत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबाट पारित विधान कार्यान्वयनमा नआउँदै उल्ट्याउने निर्णय गरेको थियो । 

बैठकले यसअघिकै १९ पदाधिकारीसहित ३ सय एक सदस्यीय कमिटी कायम राख्ने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष हटाइएको छ भने उपाध्यक्ष घटाएर सचिव बढाइएको छ । केन्द्रीय कमिटी बैठकले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहाचिव र नाै सचिव राख्ने निर्णय गरेको हो।

अब एमालेमा ९९ सय सदस्यीय पोलिटव्युरोको एक तिहाई स्थायी समिति तथा ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम हुनेछ। गत भदौ २२ मा सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो । त्यो निर्णय कार्यान्वयन नुहँदै उल्टिएको छ ।

विधान महाधिवेशनको निर्णय कार्यान्वयन नहुँदै आफू अनुकूल नेता व्यवस्थापनका लागि पदाधिकारी संरचना बनाएको भन्दै वरिष्ठ अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ । बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । 

शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन भएको थियो । नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समूह नै बनाएर चुनावी मैदानमा उत्रँदैछन् । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधि महाधिवेशन बन्दसत्रमा सहभागी हुनेछन् । 

महाधिवेशनमा प्रस्ताव तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ । नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.