
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ पातलेगाउँमा यात्रुबाहक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि अवरूद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
आइतबार बिहान करिब ९ बजे बीपी राजमार्गअन्तर्गत धुलिखेल-भकुण्डेबेसी खण्डमा काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको यातायातअन्तर्गत सञ्चालन हुँदै आएको बाग्मती प्रदेश ०१-००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले बाटो हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा नमोबुद्ध नगरपालिका-२ निवासी ८२ वर्षीय पोतबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बीपी राजमार्ग अवरूद्ध गरेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो। प्रशासन, यातायात व्यवसायी, मृतकका आफन्त तथा स्थानीय प्रतिनिधिबीच जिल्ला प्रहरी कार्यालय काभ्रेको पहलमा वार्ता हुने सहमतिपछि मृतक कटुवालको शव उठाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठकाअनुसार जिल्ला प्रहरी कार्यालयमै वार्ता गर्ने सर्तमा अवरूद्ध राजमार्ग खुलाइएको हो। हाल बीपी राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस चालक रामेछाप जिल्ला मन्थली नगरपालिका स्थायी घर भएका देवराज बुढाथोकीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।