
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।
संघीय संसद् सचिवालय दिवसमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गर्नुभयो । सभामुख घिमिरेले सरकारले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी घटाउने काम गरेकाेप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।
सरकारले संघीय संसद्लाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाइ थियो । सभामुख घिमिरेले सरकारले संघीय संसद्को सेवा, सुविधा घटाउने निर्णय तत्काल सच्याउनुपर्ने समेत बताउनु भयो ।