
काठमाडौं । पुराना दलहरू महाधिवेशन र आन्तरिक विवादमा अल्झिरहँदा नयाँ दल भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन कार्यक्रममा व्यस्त छन् ।
केही पार्टी घोषणादेखि एजेन्डासम्म सार्वजनिक गरिरेहका छन् भने केही नयाँ दल भने कसरी अगाडि बढ्ने भन्नेमै अलमलमा देखिएका छन् । पुराना राजनीतिक दलहरू महाधिवेशनदेखि पार्टीको पुनर्संरचनामा अलमलिइरहँदा देखिँदा केही नयाँ दल भने निर्वाचनलक्षित कार्यक्रममा व्यस्त देखिएका छन् ।
दिनेश प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीले यतिखेर संगठन विस्तारदेखि चुनावी घोषणापत्रसम्मको काम गरिरहेको छ । उद्यमशीलता, रोजगारी, शिक्षा, पर्यटन र सूचना प्रविधिलगायतका विषयमा काम गर्ने बताएको यो पार्टीले अरूसँग मिल्नेभन्दा आफ्नो एजेन्डा बलियो पार्न आन्तरिक तयारी भइरहेको बताएको छ । उसल विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूलाई पार्टीमा समावेश गर्ने काम गरिरहेको छ ।
रत्नप्रसाद श्रेष्ठ नेतृत्वको नागरिक सर्वोच्चता पार्टीले पनि आफ्नो चुनावी अभियान सुरू गरेको छ । नागरिक मैत्री सेवा नभएको भन्दै नागरिकका लागि काम गर्ने यो पार्टीले जनाएको छ । चुनावलक्षित ६० प्रतिशत काम सकिएको समेत पार्टीको दाबी छ ।
त्यसैगरी लामो समयदेखि निर्वाचन बहिस्कार गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी पनि निर्वाचनमा होमिएको छ । सडकको आन्दोलन सदनमा गएर कार्यान्वयन गराउने लक्ष्य यो पार्टीको छ । उसले अहिले संगठन विस्तार, घोषणापत्र, उम्मेदवार चयन र निर्वाचनलक्षित कार्यक्रम देशव्यापी बनाएको बताएको छ ।
अहिले कम्युनिष्टहरू एकै ठाउँमा आउनुपर्छ भन्दै एमालेदेखि पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसम्म छलफल गरिरहेको छ । उत्पादन र अर्थतन्त्रका क्षेत्रमा फरक तरिकाले काम गर्ने यो पार्टीको दाबी छ ।पूर्वराजदूत नवराज सुवेदी कार्यकारी अध्यक्ष रहेको नेपाली जनता दलले पनि निर्वाचनको तयारी गरिरहेको बताएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र स्थिर सरकारका लागि राष्ट्रिय सहमति खोजेर संविधान संशोधन गर्नेसम्मको एजेन्डा यो पार्टीले बोकेको छ ।
केही नयाँ दल भने अलमलमै देखिन्छन् र निर्वाचनका लागि तयार पनि देखिएका छैनन । भदौ २३ गते भएको जेन-जी आन्दोलनमा गोली लागेर घाइते भएकाको लतपत्तिएको जुत्ता निर्वाचन चिन्ह राखेर दल दर्ता गरेको जेन-जी समूहले निर्वाचनको तयारी गरेको छेन । प्रकाश खड्का नेतृत्वको जनसेवा पार्टीले अहिलेसम्म निर्वाचनलक्षित कार्यक्रम गरेको छैन, न त संगठन विस्तारमा नै लागेको छ ।
पुराना राजनीतिक दलले पुरा गर्न नसकेको बाचा बोकेर यसपटक नयाँ दलहरू निर्वाचनमा जाँदैछन् । अब निर्वाचनको मैदानमा को खरो उत्रनेछ, समयले बताउनेछ ।