
काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठकमै नेकपा एमालेले विरोध गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज बसेको पहिलो अधिवेशनको पहिलो बैठकमै एमालेले सांसदहरूले उठेर विरोध गरे ।
संसद् बैठकको अध्यक्षता गरिरहनुभएका अर्जुननरसिंह केसीले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद गुरु बराललगायतका सांसदहरूले उठेर विरोध गर्नुभएको हो । सांसदहरू उठेपछि केसीले पहिलो बैठक सहज रूपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । तर सभामुख केसीको आग्रह एमाले सांसहरूले नमानेपछि बोल्न समय दिनुभयो ।
एमाले सांसद बरालले सरकारका गतिविधि संविधानको मर्मविपरीत भएको आरोप लगाउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि प्रतिशोध साँध्न पक्राउ गरिएको आरोप लगाउनुभयो । उहाँले ओली पक्राउको विरोधमा भएको देशव्यापी प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग भएकाले नेता कार्यकर्ता घाइते भएको बताउनुभयो । उहाँले घाइतेहरूको निःशुल्क उपचार र पक्राउ परेका नेता कार्यकर्ताको बिनासर्त रिहाइको माग पनि गर्नुभयो ।
सांसद बरालले जेन-जी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनमा भदौ २४ गतेको घटनामा मौन रहेकाले आशंका गर्ने ठाउँ रहेको दाबी गर्नुभयो । उहाँले २४ गतेको घटना पनि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।