
भक्तपुर । नेकपा (एमाले)को ११औं महाधिवेशनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रणनीतिक सुरक्षा योजना तयार गरिरहेको छ ।
अरनिको राजमार्गसँगै जोडिएको सल्लाघारीको १ सय ८ रोपनी चौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन सत्र हुने भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना बनाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।
मंसिर २७ गते हुने महाधिवेशनमा सहभागी हुन ७७ जिल्लाबाट एमालेका नेता तथा कार्यकर्ता भक्तपुर आउने भएकाले सवारी पार्किंग, अरनिको राजमार्ग निर्वाध रूपमा सञ्चालन, सहभागीहरू उद्घाटन हुने स्थलसम्म पुग्दा प्रदर्शन हुने विभिन्न झाकी, र्याली र सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई परिचालन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
एमालेका केन्द्रदेखि जिल्ला स्तरका नेताहरूसँग पनि निरन्तर बैठक बसेर सुरक्षा सम्बन्धि छलफल भइरहेको उहाँको भनाइ थियो । अरनिको राजमार्गअन्तर्गत ६ लेनको सडकमा निर्वाध रूपमा यातायात सञ्चालन गर्नका लागि काठमाडौं उपत्यका ट्राफिक कार्यालयका डीएसपीको नेतृत्वमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।
यस्तै उद्घाटन सत्रका लागि काठमाडौं उपत्यकाका प्रहरीहरू परिचालन हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।