
हुम्ला । सर्केगाड गाउँपालिका–६ रिपमा भएको आगलागीमा एक दम्पती घाइते भएका छन् । घाइतेमध्ये श्रीमान् लैबा फडेराको अवस्था गम्भीर रहेको छ भने उनकी श्रीमती बम्बु फडेराको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सिमकोटले जनाएको छ ।
आगलागीमा घाइते दुवै जनालाई आज बिहान करिब २ बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट ल्याइएलगत्तै उपचार सुरु गरिएको थियो । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार लैबा फडेराको ५४ प्रतिशत शरीर जलेको छ भने बम्बु फडेराको १८ प्रतिशत शरीर जलेको छ ।
लैबा फडेराको अवस्था जटिल भएकाले उनलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ । आज बिहान जहाज उपलब्ध हुनेबित्तिकै प्रदेश अस्पताल वा अन्य सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
हिजो राति करिब ११ बजे सुरु भएको आगलागीमा लैबा फडेरा, जयराम फडेरा र क्रान्ति फडेराका घर जलेर नष्ट भएका छन् । साथै अन्य केही घरका सामग्रीसमेत आगलागीमा जलेका छन् । आगो स्थानीयको प्रयासमा आज बिहान साढे २ बजे नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीबाट भएको कुल क्षतिको विवरण भने संकलन भईरहेको प्रहरीले जनाएको छ ।