
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन-जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताउनुभएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रूपान्तरण गर्न प्रेरित गरेको दाबी समेत गर्नुभयो ।
उहाँले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि सो आन्दोलनले प्रदान गरेको उल्लेख गर्नुभयो । मुलुकमा परिमार्जित, रूपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउन सक्ने समेत स्पष्ट उहाँले पार्नुभयो । उहाँले सरकार नीतिसँग मेल खानेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालहरूको ध्यानाकर्षण गराउनु भयो ।
उपराष्ट्रपति यादवले मुलुकले अनुसन्धान र नवप्रवर्द्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा हुने खालको शिक्षामा निजी क्षेत्रको शिक्षालयहरूको योगदानको अपेक्षा गरेको पनि बताउनु भयो ।