खोरेतमुक्त प्रदेशतर्फ कोशीको पहल : १२ लाखभन्दा बढी गाईभैंसीलाई निःशुल्क खोप लगाउने लक्ष्य

मंसिर १९, २०८२ |रमा दाहाल
खोरेतमुक्त प्रदेशतर्फ कोशीको पहल : १२ लाखभन्दा बढी गाईभैंसीलाई निःशुल्क खोप लगाउने लक्ष्य

झापा । नेपालमा पशुपालन गर्ने किसानलाई सधैंको डर हुने गर्छ, कतै रोग फैलिएर गाईवस्तु जोगाउनै नसकिने पो हो कि ? 

हुन पनि गाईभैंसीमा महामारीका रूपमा फैलिने खोरेत, लम्पीस्किन, थुनेलो, मिल्क फिभरजस्ता रोगले किसानलाई निकै हैरान पार्ने गरेको छ । किसानको चिन्तालाई ख्याल गर्दै कोशी प्रदेश सरकारले यतिबेला खोरेतविरूद्धको खोप अभियान चलाइरहेको छ। यो अभियानले किसानलाई राहत मिलेको छ।

कोशी प्रदेशका सबै स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरू यतिबेला किसानको गेाठ-गोठमा पुगेर गाईभैंसीलाई खोरेतविरुद्धको खोप लगाइरहेका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले चलाएको खोरेतमुक्त प्रदेश अभियानअन्तर्गत सबै किसानका गाईभैंसीलाई निःशुल्क खोप लगाइने छ । 

निर्देशनालयले यो वर्ष प्रदेशका १७ लाख हाराहारी गाईभैंसीमध्ये १२ लाख ९४ हजारलाई खोरेतविरूद्धको खोप लगाउने लक्ष्य लिएको छ । प्रदेशभर खोरेतविरूद्धको खोप लगाउने अभियान चलिरहँदा आमकिसान भने दक्ष पशु प्राविधिको अभावमा सामान्य रोगको समेत उपचार नपाएर महङ्गो मूल्य तिरेर किनेका पशु चौपाया मर्ने गरेको गुनासो सुनाउँछन् ।

नेपालमा उन्नत नश्लका गाईभैंसी नपाइँदा अधिकांश किसान भारतलगायतका देशबाट लुकीछिपी गाईभैंसी ल्याउने गर्छन् । जसले गर्दा खोरेतलगायतका महामारीजन्य रोगहरू उतैबाट भित्रने गरेको कतिपय किसानको बुझाइ छ । यसको नियन्त्रणका लागि खोप अभियानसँगै गाईभैंसीको अवैध ओसारपसार रोक्नुपर्ने ती किसानको माग छ ।

नेपाल विश्व पशु स्वास्थ्य संगठन र विश्व व्यापार संगठनको सदस्य राष्ट्र हो । त्यसैले पनि सरकारलाई सन् २०३० सम्ममा देशलाई खोरेतमुक्त बनाउनै पर्ने दबाब छ । यस्तो अवस्थामा कोशी प्रदेश सरकारले देखाएको यो तदारूकताले प्रदेशलाई खोरेतमुक्त बनाउन बल मिल्नसक्छ । यद्यपि भारतबाट आयातीत खोपमा भर पर्नुपर्दा यो अभियानले निरन्तरता पाउनेमा भने शंकै छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।