अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अन्त्य भएको छैन : सञ्चारमन्त्री खरेल

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अन्त्य भएको छैन : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अन्त्य नभएको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यत्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरूमाथिको विभेद अन्त्य हुन नसकेको बताउनुभएको हो । उहाँले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको बताउनु भयो । 

तीमध्ये गम्भीर रूपमा अपाङ्गतामा भएका व्यक्तिहरू डेढ लाख जति भएको उहाँको भनाइ छ । गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको अवस्था नाजुक रहेको उल्लेख गर्नुहुँदै उहाँले उनीहरूलाई राज्यले सहयोग गर्न नसकेको बताउनु भयो । देशमा संघीयता आए पनि अपाङ्गता भएका व्यक्तिहरूले संघीयताको महशुस गर्न नपाएको उहाँको भनाइ छ । 

उनीहरूले प्रयोग गर्ने समाग्रीहरू अझै पनि स्थानीय तहहरूमा सहज रूपमा नपाउने गरेको मन्त्री खरेलले बताउनु भयो । यस्तै उहाँले राज्यका संयन्त्रहरू पनि अपाङ्गतामैत्री नभएको उल्लेख गर्नुभयो । मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिनुभयो । त्यसको लागि आवश्यक सुझाव दिन उहाँले आग्रह गर्नुभयो । उहाँले सरकार अपाङ्गता भएका व्यक्तिहरूको समस्याका बारेमा गम्भीर रहेको बताउनु भयो ।

मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गर्नुभयो । सोहीअनुसार सरकारले आफ्नो काम अगाडि बढाइरहको उहाँले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.