
रामेछाप । जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा पाँच करोडभन्दा बढी लगानीमा आधुनिक र सुविधा सम्पन्न सभाहल निर्माण कार्य भइरहेको छ ।
हल बन्न थालेपछि जिल्लामा सभा–सम्मेलन सञ्चालनमा चुनौती नहुने अपेक्षा गरिएको छ। पुरानो भवन तथा खेलकुद मैदान मासेर केही महिनाअघि सुरू गरिएको सभाहलको निर्माण करिब १५ प्रतिशत काम पूरा भइसकेको निर्माण कम्पनीले जनाएको छ। अन्डरग्राउन्ड पार्किङसहित ७.१५ मिटर उचाइमा निर्माण हुने सभाहलमा एकै पटक पाँचसय जना अट्न सक्ने क्षमता रहनेछ।
सभाहल निर्माणका लागि २०८२ असार १३ गते सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख श्यामचन्द्र बुढाथोकीले बताउनुभयो । उहाँकाअनुसार भ्याटसहित ८ करोड २६ लाख ४८ हजार ७३६ रूपैयाँ लागत अनुमान गरिए पनि डिएस-एसआर बिल्डर्स योजन जेभीले भ्याटसहित ५ करोड ४१ लाख २५ हजार १८१ रूपैयाँमा ठेक्का पारेको हो। निर्माण कार्य २०८३ पुस १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले मन्थलीमा व्यवस्थित सभाहलको अभावले बारम्बार समस्या आइरहेकाले निर्माण भइरहेको यो नयाँ हल जिल्लाका लागि महत्त्वपूर्ण भएको बताउनुभयो ।