
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मैदानमा उत्रेका ३ हजार ४ सय ८७ मध्ये अहिलेसम्म ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित केही दलका, कतिपय बागी र केही अन्य दल तथा स्वतन्त्र उम्मेवार मैदानबाट पछि हटेका हुन् । उम्मेदवारी फिर्ता लिने अधिकांशले इच्छा नभएको भनेका छन् भने कतिपयले व्यक्तिगत र सामाजिक कारण देखाएका छन्।
देशभरका १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४८७ उम्मेदवारी दर्ता भएकोमा ४९ जना उम्मेदवारले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । मनोनयन पत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिनेसम्मका कार्यहरू देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेहरु धेरैजसो स्वतन्त्र उम्मेदवार छन् । केही राजनीतिक दलका छन् । गोरखा- २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले अधिकांश उम्मेदवार र नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
मनाङमा भने उम्मेदवारबीच नै मिलेमतोको आशंका देखिएको छ । मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । मनाङमा पाँच जनाको उम्मेदवारी परेकोमा कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ सुवेदी र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले मनोनयन कायम छ ।
यसैगरी हुम्लामा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका भूपेन्द्रजंग शाही र नेकपाका जीवन बुढालगायतले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । हुम्ला, कालिकोट र सल्यानमा ६ जनाको उम्मेदवारी फिर्ता भएको छ । रोल्पामा दुई जनाले, रुकुमपूर्वबाट अमरसिं पुनले, बर्दियाका २ वटै क्षेत्रबाट तीनजनाले, धनकुटामा गंगाराम गोम्देनले, तनहुँ-२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ।
दलगत रुपमा दाङमा पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र सिन्धुलीमा महेश्वर दाहालले भने आफ्नो दल नेकपाको निर्देशन अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी कायमै राख्नुभएको छ। आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदानसमेत गरेको छ । अब प्रत्यक्षतर्फको मतपत्र डिजाइन गरेर छपाइको काम सुरू हुनेछ ।