
सिरहा । सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग विस्तारका क्रममा भत्काइएका संरचना निर्माण गर्न माग गर्दै चोहर्वा नयाँ चोकका स्थानीय आन्दोलित बनेका छन् ।
स्थानीयले मंगलबार राजमार्ग अवरूद्ध पार्दै भत्काइएका पार्क, बस बिसौनीसहित दुई तर्फी नाला बनाउनुपर्ने माग गरेका हुन् । सिरहा सदरमुकाम जाने बाटो पनि यही भएका कारण सवारीसाधनको अत्यधिक चाप हुने भन्दै चोहर्वामा ६ लेन राजमार्ग र अन्डरपास पनि निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।
आफूहरूले कमला कञ्चनपुर सडक योजना कार्यालय, मिर्चैया र निर्माण कम्पनीलाई पटक-पटक यसबारे गुहार्दासमेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीयले बताएका छन् । माग सम्बोधन नभए कडा संघर्षमा जाने चेतावनीसमेत स्थानीयले दिएका छन् । योजना कार्यालय र निर्माण कम्पनीले भने आफूहरू स्वीकृत डिजाइन र इस्टिमेटभन्दा बढी काम गर्न नसक्ने बताउँदै आएका छन् ।