सरकारले भैरहवा सेजको भाडादर घटाएपछि उद्योगी-व्यवसायी उत्साहित

खाली रहेका १६ प्लटमा पनि उद्योग स्थापना हुने अपेक्षा
मंसिर १२, २०८२ |भुवन पाण्डे
सरकारले भैरहवा सेजको भाडादर घटाएपछि उद्योगी-व्यवसायी उत्साहित

रूपन्देही । सरकारले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजको भाडा दर घटाएपछि उद्योगी व्यवसायी उत्साहित भएका छन् । 

भाडा कम भएपछि सेजमा खाली रहेका १६ वटा प्लटमा पनि उद्योग स्थापना हुने आशा गरिएको छ । रूपन्देहीको भैरहवामा ५२ विघा क्षेत्रफलमा फैलिएको यस विशेष आर्थिक क्षेत्र सेजमा जम्मा ६८ वटा प्लट छन् । अहिले २९ वटा प्लटमा बनेका ११ वटा उद्योग सञ्चालनमा छन् । 

२० वटा प्लटमा सात वटा उद्योग निर्माणाधीन छन् । त्यस्तै तीनवटा प्लटमा बनेका दुई उद्योगमध्ये एउटा बन्द छ भने अर्को खारेज भइसकेको छ । बाँकी १६ वटा प्लटको बुकिङ भइसकेकाले अब भाडा घटेसँगै त्यहाँ उद्योग खुल्ने अपेक्षा गरिएको छ । सरकारले प्रति वर्ग मिटर २० रूपैयाँ लिइँदै आएको भाडा घटाएर अब पाँच रूपैयाँमा झारेको छ ।

भाडा कम हुँदा उद्योगीहरूले राहत पाएको बताइरहेका छन् तर सेजमा अझै पनि सुधार आवश्यक भएको उनीहरूको भनाइ छ । विशेष गरी मापदण्डअनुसार एकद्वार प्रणाली कार्यान्वयन नहुँदा तयार सामान निर्यात गर्दा झन्झट भइरहेको गुनासो छ । सेज सञ्चालन कार्यविधि २०७१ अनुसार पहिला भाडादर प्रति वर्ग मिटर १५० रूपैयाँ थियो । 

२०७५ मा संशोधन गरी २० रूपैयाँमा झारिएको यो दर अब फेरि पाँच रूपैयाँमा आएको हो । पहिले सेजमा बसेका उद्योगले ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने नियम थियो । अहिले त्यो घटाएर ३० प्रतिशतमा ल्याइएको छ । नयाँ उद्योगले तीन वर्षसम्म निर्यात नगरे पनि हुने व्यवस्था गरिएको छ । 

निर्यात गर्ने उद्योगका लागि पाँच वर्षसम्म शत प्रतिशत र त्यसपछि ५० प्रतिशत आयकर छुट छ । खाद्य उद्योग, कृषिजन्य तथा हर्बल उत्पादन, छालाका सामान, तयारी पोसाक, हस्तकला, धातु तथा प्लास्टिकका उत्पादनलाई सेजले प्राथमिकतामा राखेको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।