
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय १४ गतेसम्मका लागि थप भएको छ ।
निर्वाचन आयोगले समय अपुग भएको गुनासो आएपछि दल दर्ताको समय थप गरेको हो । यसअघि आयोगले दल दर्ता गर्न आजसम्मको समय दिएको थियो । निर्वाचन आयोगमा बुधबारसम्म १ सय ६ वटा दलले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएका छन् । आयोगमा भने १ सय ३७ वटा दल दर्ता छन् ।
जेन-जी आन्दोलनपछि दर्ता हुन आएका नयाँ दलमध्ये १८ वटा दलले प्रक्रिया पुरा गर्न सकेका छैनन् । प्रक्रिया पूरा गरी दल दर्ताको प्रमाणपत्र लिएपछि मात्रै निर्वाचन प्रयोजनका लागि दर्ता गर्न सकिने प्रावधान छ । त्यसैगरी केही राजनीतिक दल मिलेर एकल चुनाव चिन्हबाट निर्वाचन लड्ने गरी आयोगमा निवेदन दिएका छन् ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राईको जसपा र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति नेपालले उन्मुक्तिको जाँतो एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान लागेका छन् । त्यसैगरी खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल पनि उज्यालो नेपालले बलेको चिम चिह्न लिएर चुनावमा जाने भएका छन् । त्यसैगरी नेपाल संघीय समाजवादी, बहुजन एकता,नेपाल जनजाती पार्टी पनि एकल चुनाव चिन्हमा निर्वाचनमा जाने भएका छन् ।
आयोगले निर्वाचनमा भाग लिन दर्ता भएका दलहरूको कागजात अध्ययन गर्नेछ ।