
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताउनु भयो । यसलाई सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँकाअनुसार २०४८ सालको सरकारद्वारा सुरू गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो । यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिब १ सय अर्ब डलरको आकारमा पुग्ने उहाँको भनाइ छ । तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उहाँले बताउनु भयो ।
पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक-आर्थिक उथलपुथलको चक्रमा फसेको उहाँले बताउनु भयो । त्यसको प्रतिबिम्व भदौ २३-२४ का घटनाले पनि देखाएको उहाँको भनाइ छ । जेन-जी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक-राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उहाँले बताउनु भयो । उहाँले यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।