
काठमाडौं । विश्वमा दैनिक १ सय ५७ महिला तथा किशोरीहरूको परिवारका सदस्यहरू या घनिष्ट पार्टनरबाटै हत्या हुने गरेको राष्ट्रसंघीय प्रतिवेदनले जनाएको छ ।
राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय-यूएनओडीसी र यूएन वुमेनले सार्वजनिक गरेको २०२५ को 'फेमिसाइड प्रतिवेदन' ले गत वर्ष ८३ हजार महिला र किशोरीहरूको जानाजान हत्या गरिएको उल्लेख गरेको छ । जसअनुसार ५० हजारभन्दा धेरै आफ्नै परिवारका सदस्य या घनिष्ट पार्टनरबाट मारिएको प्रतिवेदनमा उल्लेख छ ।
औसतमा प्रत्येक १० मिनेटमा एक महिला वा किशोरी घरेलु हिंसाको कारण ज्यान गुमाइरहेको र अफ्रिकामा महिला हत्या दर सबैभन्दा उच्च रहेको प्रतिवेदनले जनाएको छ। यूएन वुमेनकी नीतिगत निर्देशक सारा हेन्ड्रिक्सले महिला हत्याहरू प्रायः अनलाइन तथा अफलाइन दुवै माध्यमबाट सुरू हुने हिंसाको निरन्तरताको परिणाम भएको बताउनुभएको छ ।
यस वर्षको १६ दिने अभियान डिजिटल हिंसामा केन्द्रित रहेको छ । डिजिटल हिंसाअन्तर्गत अनलाइन उत्पीडन, गलत सूचना, डीपफेक, र गोप्य सामग्रीको दुरुपयोगजस्ता जोखिम बढिरहेको बताइएको छ । यूएनओडीसीका कार्यकारी निर्देशक कार्यवाहक जोन ब्रान्डोलिनोले महिलाहरूका लागि घर अझै पनि असुरक्षित स्थान बनेको बताउँदै प्रभावकारी रोकथाम रणनीति र न्यायिक प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।