
काठमाडौं । काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ ।
परिसरले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरकार प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये सात जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उहाँले पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको बताउनु भयो । एसपी भट्टराईले सातवटा उजुरीहरू तामेलीमा राखिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको बताउनु भयो । उहाँले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खर-खजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको उहाँले बताउनुभयाे । न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएकाे उहाँकाे भनाइ छ । पक्राउ परेकामध्ये पाँच जना मात्र महिला रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले जेन-जी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताउनुभयो । पुनः पक्राउ गरिएका थुनुवाहरू ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उहाँको भनाइ छ । उहाँले बाँकी १५ जना थुनुवाहरू समेत आफूहरूको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।